- व्यवस्थित अस्थायी संरचना बनाउन निर्देशन
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक तथा पुल निर्माणको अवस्थामा अस्थायी आवागमनका लागि बनाइएका संरचना सुरक्षित बनाउन निर्देशन दिएका छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिकाको निर्माणाधिन पुल छेउमा बनाइएको साँघुबाट दुई जना खसेको घटनालगत्तै मन्त्री दाहालले अस्थायी संरचना पनि व्यवस्थित बनाउन निर्देशन दिएका हुन् । घटनाका बारेमा मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसँग जानकारी लिँदै मन्त्री दाहालले त्यस्ता स्थानहरुको सुरक्षामा ध्यान दिन र सुरक्षित बनाउन निर्देशन दिएको स्वकीय सचिव गोपाल गुरागाईंले जानकारी दिए ।
छायाँनाथ राराको वडा नं. १ स्थित गमगाड खोलामा हाल पक्की पुल निर्माणाधिन रहेको छ । सोही स्थानमा मानिसको आवत जावतका लागि बनाइएको अस्थायी साँघुबाट एक बच्चा र महिला खसेको घट्ना बारे प्रमुख जिल्ला अधिकारी केसीले जानकारी गराएका दिए । खसेका व्यक्तिहरुको उद्दार गरिएको र उक्त स्थानको अस्थायी साँघुलाई सुरक्षित बनाउन नगरपालिकाको तर्फबाट समेत पहल भइरहेको केसीले जानकारी दिए ।
मन्त्री दाहालले अहिले वर्षायाम रहेको र देशका विभिन्न भागमा बाढी, डुवान तथा कटानको जोखिम रहेकाले मानवीय क्षति हुन नदिन अस्थायी संरचनाहरुलाई पनि सुरक्षित बनाउन निर्देशन दिएका हुन् । तत्काल गर्नु पर्ने कामका लागि स्रोत साधनको अभाव हुन नदिने समेत उनले प्रतिबद्धता जनाए ।
मंगलबार नै मन्त्री दाहालले मनोहरा खोलाका कारण डुवानमा पर्ने गरेको च्यासल क्षेत्रको निरीक्षण गरेका थिए । सो स्थानकोसमस्या समाधानका लागि प्राविधिक अध्ययन गरि आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए ।
च्यासल डुबानबारे ललितपुर २ का सांसद प्रेम महर्जनले दुई दिनअघि मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया