आजदेखि सुरु हुँदै माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक

आजदेखि सुरु हुँदै माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदैछ।

साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आजदेखि बैठक सुरु हुन लागेको हो।

बैठक बागमती प्रदेशबाट सुरु हुन लागेको छ। बागमतीका केन्द्रीय सदस्यहरूको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन्। २ दिनसम्म चल्ने बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने उनले बताए।

परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा बैठक असोज ३ गतेसम्म चल्नेछ। जसमा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्ने छ।

त्यस्तै गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते, कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते, लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते, तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते, मधेस प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक भदौ २२ र २३ गते, पूर्व, कोशी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते बस्ने छ भने ज.व.श मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक भदौ २७ र २८ गते बस्ने छ।

त्यस्तै प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र आश्विन १ गते, ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते बस्ने तय भएको छ।

Logo