काठमाडौं– सभामुख देवराज घिमिरेले योगको माध्यमबाट नेपाललाई संसारमा चिनाउन सकिने बताउनुभएको छ ।
जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा आज भएको स्वजागरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल योगका लागि जन्मभूमि रहेको समेत उल्लेख गर्नुभयो । ‘मानिसहरूलाई आध्यात्मिक रूपमा अघि बढ्न, आन्तरिक खुसी र शान्तिपूर्ण जीवनका लागि योग जरुरी छ,’ उहाँले भन्नुभयो, ‘हामीले योगको प्रचार गरेर संसारमा चिनिन सक्छौं ।’ ऋषिमुनिहरू र बुद्धको तपोभूमि नेपाललाई विश्वमाझ आध्यात्मिक केन्द्रको रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो ।
मानिसको मूल स्वभाव स्वस्थ्य, खुसी, साहस, प्रेम, ज्ञान, ध्यान र आनन्द रहेको बताउँदै सभामुख घिमिरेले योगले आफ्नो आन्तरिक क्षमता जगाएर व्यवहारिक रूपमा समस्याहरूलाई समाधान गर्न सक्ने बनाउने उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले योग दिनचर्याको रुपमा नै गर्नुपर्नेमा जोड दिनुभयो । सर्वोच्च विधायिकी संस्था संघीय संसदका माननीयज्यूहरुमा स्वजागरण कार्यक्रमले सकारात्मक ऊर्जा प्रदान गरेको सभामुखको भनाइ छ ।
संघीय संसदका सदस्यहरूका लागि आयोजना गरिएको योगाभ्यास सम्बन्धीको स्वजागरण कार्यक्रमको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।
प्रतिक्रिया