ओलीलाई फर्काए प्रचण्डले जवाफ : अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्

ओलीलाई फर्काए प्रचण्डले जवाफ : अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेताहरुले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काए । उनले भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताहरुले संविधानको व्यवस्था विपरीत बोलेको गुनासो समेत प्रचण्डले गरे ।

‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ,’ प्रचण्डले भने, ‘संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’

Logo