वडासचिवको कार्यकक्षमा दुई लाख नगदसहित झोला भेटियो

वडासचिवको कार्यकक्षमा दुई लाख नगदसहित झोला भेटियो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – पोखरा महानगरपालिका–१३ को वडा कार्यालयमा आइतबार साँझ एउटा पछाडि भिर्ने झोला फेला प-यो ।

खैरो रङको उक्त झोला आइतबार साँझ ५ बजे कोठा नम्बर १ अर्थात वडासचिव अन्जु गुरुङको कार्यकक्षको सोफामा बेवारिसे थियो ।

लामै समय पर्खिंदा पनि झोला लिन कोही आएन । त्यसपछि वडा कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरे । वडा कार्यालयको प्रहरी टोलीले जनप्रतिनिधिको रोहबरमा खोल्यो ।

झोलामा दुई लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्टका साथै बाइकको चाबीसमेत फेला परेको छ ।

कसैले दाबी गर्न नआएपछि झोला वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ । झोला कसको हो ? किन छोडेको हो ? सम्पर्कमा किन नआएको हो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त नगद र जिन्सी सामानसहितको झोला छोड्ने व्यक्तिले प्रमाणित हुने कागजातसहित सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

Logo