कार्कीको अध्यक्षतामा नेपाल वातावरण पत्रकार समाजको नयाँ नेतृत्व

कार्कीको अध्यक्षतामा नेपाल वातावरण पत्रकार समाजको नयाँ नेतृत्व

काठमाडौं एक्सप्रेस

नेपाल वातावरण पत्रकार समूह (नेवापसको)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् ।

नेवापस परिसरमा शुक्रबार भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन् । कूल १ सय ४ जना मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा. रवि शर्मा अर्यालले जानकारी दिए ।

त्यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरे । महासचिव, सचिव र कोषाध्यक्षमा भने यसअघि नै क्रमशः कमलदेव भट्टराई, सृष्टि काफ्ले र भीष्मराज ओझा निर्विरोध निर्वाचित भएकाले यी पदमा मतदान भएन ।

त्यस्तै, २ सदस्य (पुरूष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भए । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गरेका प्रमुख निर्वाचन आयुक्त अर्यालले बताए । सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गरे ।

नव निर्वाचित कार्यसमितिको कार्यकाल आगामी २ वर्षका लागि हो । जम्मा ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा २ जना महिला सदस्य र २ जना विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि समूहका विज्ञ सदस्य डा. शर्माको संयोजकत्वमा निर्वाचन कमिटि गठन भएको थियो ।

अध्यक्षमा निर्वाचित कार्की २ वर्षअघि समूहका उपाध्यक्ष थिए भने नवनिर्वाचित बन्धन यसअघि पनि कार्यसमितिमा उपाध्यक्ष नै थिए । महासचिवमा निर्वाचित भट्टराई अन्नपूर्ण एक्सप्रेस दैनिकका सम्पादक हुन् । उनी यसअघि नेवापसको समाचार पोर्टल हाकाहाकी अनलाइनमा सम्पादक थिए ।

सचिवमा निर्वाचित काफ्ले यसअघि पनि समूहकै सचिव थिइन् भने नवनिर्वाचित कोषाध्यक्ष ओझा समूहका सदस्य थिए ।

निर्वाचनअघि साधारणसभाले महासचिव सविन शर्मा, कोषाध्यक्ष सोमनाथ लामिछाने र लेखासमिति सदस्य निमेष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन छलफल पश्चात पारित ग¥यो ।

समूहले हरेक वर्ष प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंहले प्राप्त गरे । समूहका पूर्व अध्यक्ष ओम खड्काले उनलाई सम्मानपत्र र नगद राशी हस्तान्तरण गरे ।
साथै समूहका संस्थापक सदस्य भारती पाठक सिलवाललाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । विशेष कारणवस साधारणसभामा अनुपस्थित उनलाई कार्यसमितिले पछि सदस्यता प्रदान गर्ने बताइएको छ ।

Logo