नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पशुपति क्षेत्रमा सरसफाई गरेको छ । बडा दसैँको नवरात्रीको अवसर पारेर शनिबार बिहान पशुपति क्षेत्रका विश्वरुप, मृगस्थली, गुह्येश्वरी र त्यस नजिकको बाग्मतीमा सफाइ गरिएको थियो ।
कांग्रेस उपसभापति धनराज गुरुङ, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङलगायत विभागका सदस्य, पार्टी नेता/कार्यकर्ता, शुभेच्छुक एवं सरोकारवालाहरुको उपस्थिति ती क्षेत्रमा प्लाष्टिकजन्य फोहोर संकलन गर्दै सरसफाई गरिएको वातावरण विज्ञ पुरुषोत्तम महतले जानकारी दिए । ‘असोज ११ र १२ गतेको वर्षा र त्यसपछि आएको बाढीका कारण पशुपति क्षेत्रमा थुप्रिएको फोहर सफाइका लागि कार्यक्रम,’ आयोजना गरिएको उनले बताए ।
सो अवसर कांग्रेस वातावरण विभाग प्रमुख गुरुङले सांकेतिक रूपमा सरसफाई कार्यक्रमसहित शुभेच्छुकहरूलाई प्लाष्टिकजन्य फोहोरलाई व्यवस्थति रूपमा र सही ठाउँमा विसर्जन गर्नुपर्ने भन्ने सन्देश पनि दिइएको बताए । उनले स्वास्थ्य र सरसफाई मानिसको दैनिकीसँग जोडिएकाले गम्भीर हुनुपर्ने बताए ।
कांग्रेसले सम्पदा क्षेत्रलाई सधैँ सफा राख्न भन्दै वडा तहसम्म जागरण अभियान चलाउने तयारी गरिरहेको छ । मृगस्थलीमा थुप्रिएका प्लास्टिकजन्य फोहोरले वन्यजन्तुको स्वास्थ्यमा गम्भीर असर पार्ने र जथाभावी रुपमा नफाल्न पनि आग्रह गर्दै संरक्षणकर्मीहरूले सचेतना जगाएका थिए ।
गुरूङले बाढी, पहिरोका कारण वाग्मती नदी किनार र नदी किनारमा रहेका सम्पदा क्षेत्रमा जम्मा भएको फोहरलाई निरन्तर रुपमा सफाइ गर्ने बताए । असोज २१ गते बिहान ललितपुरको वाग्मती किनारस्थित बिपीनगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय परिसरमा सफाइ गरिने उनले जानकारी दिए ।
बाढी,पहिरोबाट वाग्मती किनारमा जम्मा भएको फोहर सफाइ अभियान सकेपछि वाग्मतीको मुहानस्थित वाग्द्वारबाट नै नदी सफाइका लागि अभियान चलाउने तयारी पनि विभागले गरेको छ। यो अभियानका लागि बिपी सङ्ग्रहालय सुन्दरीजललाई विशेष जिम्मेवारी दिइएको संग्राहलयका अध्यक्ष पर्शुराम पोखरेलले बताए ।
प्रतिक्रिया