नेपाल-भारत मिल्लत परिषद्ले बाढी पहिरो पीडितलाई राहत वितरण गर्‍यो

नेपाल-भारत मिल्लत परिषद्ले बाढी पहिरो पीडितलाई राहत वितरण गर्‍यो

काठमाडौं एक्सप्रेस

ललितपुर: नेपाल-भारत मिल्लत परिषद् केन्द्रले गोदावरी नगरपालिका वडा नम्बर ६ र १० स्थित टिकाभैरवमा बाढी पहिरोबाट पीडित बनेका १०० घरपरिवारलाई बुधबार राहत सामग्री वितरण गरेको छ। परिषद्का अध्यक्षसमेत रहनुभएका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा पीडितहरूलाई अत्यावश्यक खाद्यान्न, जस्तापाता, ओढ्ने ओछ्याउने लगायतका सामग्री प्रदान गरिएको हो ।

सहयोग वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य उदय शम्शेर जबरा, बागमती प्रदेशका खेलकूद मन्त्री मिनकृष्ण महर्जन, गोदावारी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, स्थानीय जनप्रतिनिधि र समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

परिषद्का अध्यक्ष अन्सारीले विपतमा परेकाहरूलाई सहयोग गर्नु मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै, बाढी पहिरो पीडितहरूको उद्दार तथा राहत कार्यलाई तीव्रता दिन सरकारलाई ध्यानाकर्षण गराउनुभयो। मन्त्री मिनकृष्ण महर्जनले पनि परिषद्ले मानवता र सामाजिक उत्तरदायित्वको क्षेत्रमा गरिरहेको योगदानको प्रशंसा गर्नुभयो।

२०८१ साल असोज ११ र १२ गते गएको बाढी पहिरोका कारण गोदावारी नगरपालिकामा ५ जनाको मृत्यु भएको थियो भने सयभन्दा बढी परिवार विस्थापित भएका थिए। नेपाल-भारत मिल्लत परिषद्ले विगतमा महाभूकम्प, कोरोना महामारी, बाढी पहिरो, आगलागी जस्ता विपदहरूमा समेत गरिब र पीडित समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ।

Logo