ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र

ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र

काठमाडौं एक्सप्रेस

बागलुङ, – बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न थालिएको हो । सडकको ट्र्याक खुलेको छ वर्षपछि विसं २०७६ मा ग्राभेलिङ गरिए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन ।

ग्राभेल गरेको सडक लामो समयसम्म कालोपत्र नहुँदा हिलाम्मे र धुलाम्मे बन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो । यो सडक म्याग्दीसँग जोडिने सडक हो । तमानखोला पहिलो पटक कालोपत्र सडकले जोडिन थालेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । पालिकाको बजेटले निकै कम हुनेहुँदा सडक कालोपत्र गर्न नसकिएको जनाउँदै प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढाएको उनले बताए , ।

सडक निर्माण भएको यत्तिका वर्षसम्म यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको अध्यक्ष बुढामगरले बताए । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पुल चार वर्ष अगाडि मात्रै बनेपछि अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ ।

अध्यक्ष बुढामगरले भन्नुभयो, “भौगोलिक हिसाबले तमानखोला मिलेको छैन, यहाँ सानो विकासका लागि ठूलो बजेट खर्च गर्नुपर्छ, पालिकाको स्रोत र साधन निकै कम छ, यद्यपि आधारभूत विकास भने गरिरहेका छौँ, सडक कालोपत्र गर्न त हामीले चाहेर पनि सकिँदोरहेनछ, एक किलोमिटर सडक कालोपत्र गर्न लाखौँ रकम चाहिँदोरहेछ । यति लामो सडक कालोपत्र गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दोरहेनछ ।”

सडक कालोपत्रका लागि पूर्वधार विकास कार्यालय बागलुङले बालेपत्र आह्वानगरी एसी कन्स्ट्रक्सनलाई जिम्मा लिएको छ । निर्माण कम्पनीलेले सडक कालोपत्रका लागि रु १२ करोड ७४ लाखमा जिम्मा पाएको हो । यस वर्ष गण्डकी प्रदेश कार्यालयले तीन करोडमात्रै बजेट विनियोजन गरेको छ । बहुवर्षे ठेक्काअन्तर्गत रहेको यो आयोजना विसं २०८३ साउन १९ गते सक्नेगरी जिम्मा पाएको एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैले बताए । काम यसै सातादेखि सुरु गरेको उहाँले जानकारी दिए ।

Logo