‘ट्रायल पास’ गरेपछि अब ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैनः प्रधानमन्त्री ओली

‘ट्रायल पास’ गरेपछि अब ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं एक्सप्रेस

काठमाडौँ, ३ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज उहाँले नागरिक ‘एप’मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा चालक अनुमतिपत्र उपलब्ध हुने उल्लेख गर्नुभएको छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको उहाँले जानकारी दिनुभयो । “यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुनेछ”, सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

यसैगरी उहाँले सरकारले नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरेको उल्लेख गर्नुभयो । कुनै पनि कामका लागि लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

Logo