जलवायु परिवर्तनले पारेको असर र जैविक विविधताको क्षतिले राष्ट्रिय सुरक्षा पारेको प्रभावलाई पनि हेरिनुपर्ने एक कार्यक्रमका वक्ताहरूले जनाएका छन् । जलवायु परिवर्तनका कारणले विपद्जन्य घटनाको वृद्धि, खाद्य सुरक्षा, पानीको संकट,बसाइसराई लगायतका घटना वृद्धि हुँदा त्यसले राष्ट्रिय सुरक्षा चासो बढाउने उनीहरूको भनाइ छ ।
पूर्व प्रधानसेनापति गौरव शमशेर जबराको अध्यक्षतामा यही विषयलाई सम्बोधन गर्ने उद्देश्यसहित नेपालमा ‘कन्जरभेसन एलायन्स नेपाल’ गठन भएको छ । एलायन्सको उपाध्यक्षमा पूर्व सचिव किशोर थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्य-सचिवद्वय क्रमशः महासचिवमा डा सिद्धार्थ बज्र बज्राचार्य, सचिवमा शरदचन्द्र अधिकारी र कोषाध्यक्षमा बैंकर जेनु थापा रहेका छन् । यस्तै सदस्यहरूमा सुरक्षाविद् एवं नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल दिलिप रायमाझी, सेनाकै पूर्वमेजर जनरल हिमालय थापा, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल, प्राध्यापक चन्द्र पोखरेल, वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा र सामाजिक संस्थाबाट हेलिना राई सदस्य छन् ।
एलायन्स गठनको अवसर पारेर आर्मी अफिसर्स क्लबकमा आयोजित कार्यक्रममा पूर्व सेनापति जबराले दुई ठूला आर्थिक शक्तिराष्ट्रको बीचमा अवस्थित भूपरिवेष्ठित राष्ट्र नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा रहेको बताए । ‘हाम्रा दुई छिमेकी संसारका बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूभित्र पर्छन् यसले जलवायुजन्य जोखिम बढाउँछ,’ पूर्व सेनापति जबराले भने,’यसले नेपाललाई स्वभाविक रूपमा पनि असर गर्छ र राष्ट्रिय सुरक्षा चुनौती पनि बढाउँछ ।’
उनले भौगर्भिक हिसाबले पनि नेपाल भूकम्पीय जोखिममा पर्ने, हिउँ पग्लने र हिमताल विस्फोटनको जखिम, बाढी, पहिरोको उच्च जोखिममा हुँदा सुरक्षा चुनौती थपिएको बताए । प्राकृतिक संरक्षण, जलवायु परिवर्तन व्यवस्थापन, राष्ट्रिय सुरक्षा र सरकारलाई नीतिनिर्माण सरसल्लाह दिने उद्देश्यले एलायन्स गठन भएको अध्यक्ष जबराले बताए ।
कार्यक्रममा बोल्दै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनले निम्त्याउने संकटले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पनि राष्ट्रिय सुरक्षासँग जोडिएको बताउँदै जलवायु परिवर्तनको प्रभावसँग जुध्नुको विकल्प नरहेको बताउँदै समस्या सम्बोधन गरिनुपर्ने बताए । ‘औद्योगिक युगको सुरुवाती चरणबाट प्रकृतिमाथि क्षयीकरण भएको हो । जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली र अल्पविकसित राट्र बढी प्रभावित छन् । जलवायु परिवर्तनका कारण कृषि, जलविद्युत र जैविक विविधतामा असर परेको छ,’ उनले भने, ‘त्यही भएर जलवायु परिवर्तनबाट हुनसक्ने चुनौतीको समीक्षा आवश्यक छ । ’
नेपाली सेना ५० वर्षदेखि संरक्षणमा रहेको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले वातावरणमा एक सिपाही, एक बिरुवा र सफा हिमाल अभियान सञ्चालन भइरहेको जनाए । सेना विपत्मा उद्धार र त्यसपछि पुनर्निर्माणमा पनि क्रियाशिल रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु महाशाखा प्रमुख डा मनिषराज पाण्डेले तापक्रम वृद्धिले विविध क्षेत्रमा असर पर्ने बताए । उनका अनुसार सन् १९६०मा जन्मिएको बच्चाको तुलनामा सन् २०२०मा जन्मिएका बच्चाहरूमा उष्ण दबाब(हिट वेभ्स) ६.८ गुणाले बढी पर्ने बताउँदै बाढीको जोखिम पनि २.८ गुणाले बढी हुने बताए ।
सुरक्षाविज्ञ एवं सेनाका पूर्वब्रिगेडियर जनरल दिलिपजंग रायमाझीले जलवायु परिवर्तन, जैविक विविधताको ह्रासले राष्ट्रिय सुरक्षाका मुद्दा बढ्दै जाने बताए । विश्वका विभिन्न मुलुकहरूको उदाहरण दिँदै उनले प्राकृतिक स्रोतमाथिको दोहन बढ्दा सुरक्षा चुनौती थपिने बताए ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तनमा नेपालको मुद्दा पेरिस सम्झौता कार्यान्वयन महत्वपूर्ण रहेको बताइन् । ‘विश्वव्यापाी तापक्रम वृद्धिको मार नेपालजस्ता हिमाली राष्ट्रले भोगिरहेका छन् । विकसित राष्ट्रले कार्बन उत्सर्जन घटाउन र विगतका सम्झौता कार्यान्वयन गर्नुपर्छ,’ उनले भनिन्, ‘प्राकृतिक संरक्षण, हिमालका मुद्दा र लस एन्ड ड्यामेज हाम्रो प्राथमिकता हो ।’
कन्जर्भेसन एलायन्स नेपालले जलवायु परिवर्तनको चुनौती चिर्न अभ्यास र विज्ञताका आधारमा सरकारलाई सघाउने सचिव शरदचन्द्र अधिकारीले बताए । उनले सन् १९७० मा नेपालमा वनजंगल घटेर चुनौती थपिँदा संरक्षणमा सेना परिचालन भएको बताउँदै नेपालका राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा सेना परिचालन गरिएको उल्लेख गर्दै विपद्जन्य घटनाको उद्धार कार्य पनि सुरक्षाकर्मीहरुको परिचालन हुने गरेको बताए ।
प्रतिक्रिया