उर्लावारीका मेयर नगरपालिका परिसरमै पिटिए

उर्लावारीका मेयर नगरपालिका परिसरमै पिटिए

काठमाडौं एक्सप्रेस

मोरङको उर्लावारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि नगरपालिका परिसरभित्रै कुटपिट भएको छ । सोमबार अपरान्ह कार्यापालिका बैठक सकेर निस्कने बित्तिकै नगरपालिका परिसरभित्रै उनीमाथि हातपात भएको हो ।

उर्लावारी वडा नम्बर ७ बसोबास गर्ने मिलन भण्डारीले मेयर खरेललाई गालामा चड्कन हानेको प्रत्यक्षदर्थीले बताएका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय उर्लावारीको हिरासतमा राखिएको छ । इप्रका उर्लावारीका इन्सपेक्टर राकेश यादवले वर्ष ४८ को उर्लावारी ७ निवासी मिलन भण्डारीलाई नगर प्रमुखमाथि हातपात गरेको आरोपमा हिरासतमा लिइएको बताए ।

प्रहरीका अनुसार उर्लावारीमा योगा थेरापी सञ्चालन गर्दै आएका भण्डारीले सोमबार बिहान मेयर खरेलसँग योगा कार्यक्रम चलाउने सम्बन्धमा छलफल गरेका थिए । प्रहरी निरीक्षक यादवका अनुसार दिनभर भण्डारी नगरपालिका परिसरमा बसेको र कार्यापालिका बैठक सकिएपछि बाहिरिने क्रममा पौने ५ बजेपछि मेयर खरेललाई गालामा चड्कन हानेका थिए ।

नगरपालिका परिसरभित्रै नगर प्रमुख पिटिएपछि उर्लावारीको नगर प्रहरी नेतृत्वमाथि पनि प्रश्न उठेको छ । नगर प्रहरी प्रमुख याम कार्कीले कार्यापालिका बैठक हुँदा आफू ड्युटीमा नभएर बक्राहा खोलातिर गएको प्रतिक्रिया दिए । उनले नगर प्रमुखमाथि हातपात भएर आरोपीलाई नियन्त्रणमा लिएको अवस्थामा आफू नगरपालिका परिसर पुगेको बताए ।

यता नगरपालिका परिसरको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नगर प्रहरीको हुने इन्सपेक्टर यादवले बताए । उनले नगर प्रहरीको सुरक्षा कमजोरी भएको पनि औंल्याए । प्रहरीले आरोपी भण्डारीलाई अभद्र मुद्दा दर्ता गराउने तयारी गरेका छन् । नगर प्रमुखमाथि हातपात भइसक्दा नगर प्रहरीको कुनै पनि प्रतिनिधिले प्रहरीसँग घटनाबारे औपचारिक रूपमा जानकारी लिन नआएको इन्सपेक्टर यादवले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo