सिरहा, – लहान नगरपालिकाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ ।
आर्थिक वर्ष २०८१/८२ को कृषि प्रसार कार्यक्रमअन्तर्गत अनुदानमा आजदेखि किसानलाई गहुँको बीउ वितरण सुरु गरिएको कृषि विकास अधिकृत प्रकाश साह हलुवाईले जानकारी दिए । उनले कृषकले गहुँको बीउ लिन सम्बन्धित वडा कार्यालयबाट निर्धारित परिमाणसहितको सिफारिस पत्र आवश्यक पर्ने र एक हप्तासम्म बीउ वितरण जारी रहने बताए ।
प्रतिकिलोग्राम रु ८५ रहेको बीउको मूल्य ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसा तोकिएको छ । “यसमा गहुँको ढुवानी खर्च खर्च नगरपालिकाको रहनेछ । बीउको आधा मूल्य मात्र किसानले तिरे पुग्छ”, नगरपालिकाका कृषि विकास अधिकृत हलुवाईले भने ।
नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानबाट कुल २१ मेट्रिक टन बीउ खरिद गरेर किसानलाई वितरण गर्न लागेको हो । गत आवमा पनि नगरले १० मेट्रिक टन बीउ खरिद गरी किसानलाई वितरण गरेको अधिकृत हलुवाईले जानकारी दिए ।
नरपालिकाभित्र अनुमानित एक हजार सात सय हेक्टर जग्गामा गहुँखेती गरिन्छ । उक्त जग्गामा लगाइने गहुँखेतीका लागि नगरपालिकाको २१ मेट्रिक टन बीउ पर्याप्त नभए पनि अघिल्लो वर्ष सोही गहुँको बीउ खेती गरेका किसानले आफैँ जगेर्ना गरेको बीउबाट पुर्ताल हुने जनाइएको छ ।
व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा बीउ वितरण भएपछि यो वर्ष गहुँ उत्पादन बढ्ने आँकलन गरिएको वडा नं १२ का अध्यक्ष बद्रीनारायण चौधरीले बताए । कृषिमा उत्पादन बढाउने हिसाबले नीति तथा कार्यक्रममा समावेश गरी योजना बनाइएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
प्रतिक्रिया