बैंकक- मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्ने बताएका छन् ।
थाइल्याण्डको राजधानी बैंककमा भएको ग्लोबल मिट २०२४ लाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपालको विविध संस्कृतिले सहिष्णुता र सहकार्यलाई कसरी प्रेरित गर्दछ भन्ने विषयमा विशेष जोड दिए ।
बैंककस्थित रोयल थाई आर्मी क्लबमा आज आयोजित ग्लोबल मिट २०२४ मा नेअध्यक्ष अन्सारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ३० भन्दा बढी देशका विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए। मानव अधिकार, शान्ति र अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई उजागर गर्दै अध्यक्ष अन्सारीले भने, “नेपालका विविध संस्कृतिहरूले हामीलाई सहअस्तित्वको पाठ सिकाएको छ। यो शान्ति र सहयोगको भावना नै हामीले विश्वलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार हो।” उनले शिक्षा, विज्ञान, र संस्कृतिलाई शान्ति र समृद्धिको मुख्य आधारस्तम्भका रूपमा औंल्याउँदै गुणस्तरीय शिक्षाको पहुँचलाई विश्वव्यापी बनाउन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष अन्सारीले थाई आर्मीका विशिष्ट अधिकारीहरूलाई उत्कृष्ट सेवाका लागि पुरस्कार वितरण गरे । उनले शान्ति र विकासका क्षेत्रमा थाई सेनाको योगदानको प्रशंसा गरे ।
ग्लोबल मिटमा थाई आर्मीका जनरल तथा उच्च अधिकारीहरूसहित नेदरल्याण्ड, जापान, इन्डोनेसिया, हङकङ, भारत र थाइल्याण्डलगायतका देशका उच्चस्तरीय प्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले शान्ति स्थापना, शिक्षा, र मानवअधिकार प्रवर्द्धनका विविध दृष्टिकोण र अनुभवहरू आदानप्रदान गरे।
ग्लोबल मिट २०२४ ले विकासशील देशहरूमा मानवीय सहायता, स्वास्थ्य सेवा, र शिक्षा प्रवर्द्धनमार्फत शान्ति स्थापना र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमको समापनमा अध्यक्ष अन्सारीले यस्तो महत्वपूर्ण मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, “यो बैठक शान्ति र समृद्धिका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्ब हो। आगामी दिनमा पनि यस मञ्चले विश्वव्यापी सहयोगलाई बलियो बनाउन योगदान पुर्याउनेछ भन्ने विश्वास छ।”
कार्यक्रमले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया