ओखलढुंगामा एमालेले खोस्यो कांग्रेसको वडा
काठमाडौं– स्थानीय तहको उपनिर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ ।
प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसले २०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जितेका दुई वटा खोसेको छ । नेमकिपाले पनि जाजरकोटमा माओवादीले जितेको वडा खोसेको छ ।
ओखलढुंगामा भने एमालेले कांग्रेसको वडा खोसेको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका- ५ नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार कुँवर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७९ मा दुहु ५ माओवादीले जितेको थियो ।
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् ।
सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् । यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो ।
कालीकोटको तिलागुफा(४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन् । २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन् । २०७९मा यहाँ वडाध्यक्ष माओवादीले जितेको थियो ।
ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ । मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार गंगा तामाङ विजयी भएका छन् । यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया