नेपालमा पहिलो पटक बाँस सम्मेलन हुँदै

नेपालमा पहिलो पटक बाँस सम्मेलन हुँदै

काठमाडौं एक्सप्रेस

नेपालमा पहिलो पटक बाँस सम्मेलन हुने भएको छ । पूर्व वन, वातावरण तथा विज्ञान मन्त्री गणेश साहको अगुवाईमा सम्मेलन गर्न लागिएको हो ।

यही फागुन १५ देखि १७ गतेसम्म कोसी प्रदेशको खोटाङ जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हुने सम्मेलन वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोसी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन ब्याम्बो क्रिएसनको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनको प्रचारप्रसारको जिम्मेवारी एनजीन सोलुसन अफ नेचरल इनोभेसन नामक संस्थाले गर्दैछ ।

बाँस सम्मेलनको तयारी सम्बन्धमा पूर्वमन्त्री गणेश साहसहितका आयोजकहरू ।

बाँसको धेरै क्षेत्रमा उपयोगिता हुने तर व्यवसायिक रूपमा नेपालमा अझै स्थापित हुन नसेको विज्ञहरूको भनाइ छ । बाँसबाट निर्मित सामग्रीहरूको उपभोग धेरै भएपनि अर्थतन्त्रमा भने पर्याप्त योगदान दिन नसकेको यस क्षेत्रमा लाग्नेहरूको बुझाइ छ ।

सम्मेलनको मुख्य उद्देश्य भनेकै नयाँ पुस्तालाई प्रकृतिसँग जोड्दै सह-अस्तित्व कायम राखेर वातावरण संरक्षण र दिगो विकासमा लैजाँदै अर्थतन्त्रलाई टेवा पुर्‍याउनु रहेको एनजीनका अनुसन्धानकर्ता डा‍. शैलेश रन्जितकारले बताए । उनका अनुसार सम्मेलनमा बाँसको उपयोगीता सँगसँगै नेपाली अर्थतन्त्रलाई कसरी योगदान गर्न सकिन्छ भन्नेमा बढी केन्द्री हुने छ ।

सम्मेलनमा देशभरबाट २सयभन्दा बढी सहभागी हुने छन् । सम्मेलनको पूर्वसन्ध्यामा एउटा छुट्टै कार्यक्रम राख्ने तयारी आयोजकको छ । उक्त प्रि-ईभेन्ट कार्यक्रममा सहभागीहरूलाई नेपालमा पाइने बाँस प्रजातिको विस्तृत जानकरी, बाँसको उपयोगिता, अर्थतन्त्रमा यसको योगदान र व्यवसायिक रूपमा बाँसको खेती सम्बन्धमा केन्द्रीत हुने डा. रन्जितकारले जानकारी दिए ।

नेपालमा बासँको प्रयोग जन्मदेखि मृत्युसम्म हुने गर्छ । बच्चालाई कोक्रोदेखि मृत्युसंस्कारमा शवलाई उठाउन बाँसलाई पालकीको रूपमा प्रयोग हुने गर्छ । बाँसबाट निर्मित सामग्रीहरूहरू पनि बजारमा पाइन्छन् तर तीनको पर्याप्त व्यवसायिक प्रचारप्रसार हुन नसकेको विज्ञहरूको भनाइ छ ।

बाँस सम्मेलनले मुलुकलाई बाँसको प्रयोग र उपयोगितासम्बन्धमा नयाँ सुझाव दिने पूर्वमन्त्री गणेश साह बताउँछन् । उनी भन्छन्,’यो सम्मेलनले बाँसको उपयोगितासँगै नीति निर्मताहरूले यसलाई कसरी अर्थतन्त्रसँग जोड्न सकिन्छ भन्ने एउटा ठोस प्रस्ताव र निष्कर्ष सम्मेलनले दिनेमा म पूर्ण विश्वस्त छु ।’ उनले बाँसको उपयोगलाई प्रवर्द्धन गर्दै आर्थतन्‍त्रलाई बलियो बनाउन सकिने बताए ।

बाँस सम्मेलन सम्बन्धी जानकारीमूलक ब्रोसर ।

सम्मेलनमा बाँससँग सम्बन्धित अध्ययन अनुसन्धान,बाँस उद्योगमा लागेका मानिसहरूको अनुभव, यसलाई व्यवसायिक रूपमा लैजान गर्नुपर्ने नीति सुधारलगायतका विषयहरूमा छलफल हुने आयोजकले जनाएको छ ।

विश्वमा १६ सय ९८ प्रजातिका बाँस पाइने अनुमान छ । तीमध्ये नेपालमा ५३ प्रजातिहरू पाइने वैज्ञानिक अभिलेख छ । अनुसन्धानकर्ता रन्जितकार भन्छन्,’नेपालमा योभन्दा बढी प्रजातिका बाँस पाइने अनुमान छ । विस्तृत अनुसन्धान हुन अझै बाँकी छ ।’ नेपालमा पाइने बाँस प्रजातिहरूमध्ये ७ प्रजाति नेपालबाहेक अन्य मुलुकहरूमा अभिलेख छैनन् ।

हालै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले निकालेको एक रिपोर्ट अनुसार नेपालमा पाइने बाँस प्रजाति समुद्रीसतहदेखि ५७ मिटरदेखि २ हजार ७ मिटरको उचाइ भएको क्षेत्रमा पाइएको छ । उक्त रिपोर्ट अनुसार हरेक बाँसको औसत तौल ३२.२७ केजी छ ।

Logo