समावेशी शिक्षामा मनोवैज्ञानिक चुनौतीहरूः

समावेशी शिक्षामा मनोवैज्ञानिक चुनौतीहरूः

काठमाडौं एक्सप्रेस

प्रेरणा खरेल

ललितपुर – समावेशी शिक्षा भन्नाले आजको सन्दर्भमा कुनै पनि जाति , लिङ्ग , वर्ण , सम्पन्नता, सपांग/अपाङ्ग आदिको आधारमा भेदभावरहित सबैको पहुच भएको र सबैले समान हकले प्राप्त गर्न सकिने शिक्षा भन्ने बुझिन्छ । यसकिसिमको शिक्षा नै आजको आधुनिक एवम समृद्ध विश्वको आवश्यकता पनि हो ।

अर्को अर्थमा भन्नु पर्दा समावेशी शिक्षा भन्नाले सबै विद्यार्थीहरूलाई उनीहरूको क्षमता, अपांगता, पृष्ठभूमि वा भिन्नताका आधारमा समान पहुँच र गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । यसले विविधतालाई सम्मान गर्ने, समानताको प्रवर्द्धन गर्ने, र प्रत्येक विद्यार्थीलाई सिकाइ प्रक्रियामा पूर्ण रूपमा र अर्थपूर्ण रूपमा सहभागी गराउने वातावरण सिर्जना गर्न जोड दिन्छ ।

समावेशी शिक्षाका प्रमुख विशेषताहरू भनेको नै यसले विद्यार्थीका विविध आवश्यकताहरू पूरा गर्न, शिक्षण विधि र सामग्रीलाई अनुकूल बनाउन, सहभागीता र सिकाइमा अवरोधहरू हटाउन, विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबीच सहकार्यलाई प्रोत्साहन गर्नु तथा

सबै सिक्नेहरूको बीचमा सम्मान र समझदारीको भावना बढाउनु हो। यसले विद्यालयसंस्कृतिलाई यसरी विकास गर्न खोज्छ, जहाँ प्रत्येक व्यक्ति महत्त्वपूर्ण ठानिन्छ र आफ्नो पूर्ण क्षमतामा पुग्न सहयोग प्राप्त गर्छ ।

यसो भएतापनि समावेशी शिक्षामा विभिन्न मनोवैज्ञानिक चुनौतीहरू देखा पर्छन्, जसले विद्यार्थी र शिक्षक दुवैका लागि यो प्रक्रिया थप कठिन बनाउन सक्छ। यी मनोवैज्ञानिक चुनौतीहरू यस प्रकार देखिन्छ ः

विद्यार्थीहरूका लागि देखिने चुनौतीहरूमा अपांगता भएका वा फरक क्षमता भएका विद्यार्थीहरूले सहपाठीहरूबाट नकारात्मक व्यवहार र बहिष्कारको सामना गर्नुपर्छ, जसले आत्मविश्वास कम र चिन्ता बढाउँछ । धेरै विद्यार्थीहरूले विद्यालयमा दुव्र्यवहारको सामना गर्नुपर्ने हुन सक्छ, जसले उनीहरूलाई अलग्गै महसुस गराउँछ वा कक्षाकोठामा असुरक्षित बनाउँछ ।

विशेष आवश्यकता भएका विद्यार्थीहरूले सहपाठीहरूसँग तुलना हुने डरले चिन्तित महसुस गर्न सक्छन् र सिकाइप्रति रुचि गुमाउन सक्छन् । त्यस्तै विविध पृष्ठभूमिका विद्यार्थीहरूलाई समावेशी वातावरणमा समायोजन गर्न गाह्रो हुन सक्छ, विशेष गरी विगतमा उनीहरूले विभाजन वा एकरूपता मात्र अनुभव गरेका भए।केही शारीरिक र मानसिक रूपमा अशक्त सीमावर्ती समूहका विद्यार्थीहरूले आफूलाई बहुसंख्यकलाई मात्र ध्यान दिने प्रणालीमा समायोजन गर्न कठिनाइ महसुस गर्न सकिन्छ । त्यस्तैगरि समावेशी शिक्षाको अर्को मनोवैज्ञानिक चुनौती भनेको विविध आवश्यकताहरू पूरा गर्ने र ठूलो कक्षालाई व्यवस्थित गर्ने दबाबले शिक्षकहरूमा मानसिक थकावट र तनाव उत्पन्न हुन सक्छ । यसरी शिक्षक हतोत्साहित पनि हुन सक्छन ।

निष्कर्ष : यसरी समावेशी शिक्षा आजको आवश्यकता र मानवअधिकारसंग अन्तर्सम्बन्ध राख्ने भएपनि यसकिसिमको शिक्षा प्रणालीको आफ्नै चुनौतीहरु छन। यसोभए पनि यो असम्भव चाहि छैन । कतिपय विद्यालयका बालविकास कक्षाहरुमा यसकिसिमको शिक्षा प्रणालीको शुरुवात भैसकेको छ । यसलाई अझ व्यवस्थित बनाउदै लैजान सकिन्छ। यसकिसिमको प्रणालीले सबै थरिका मानिसले शिक्षा पाउनु पर्ने हक र अधिकारको सुरक्षा पनि अवश्य गर्नेछ ।

(लेखक नवकुंज माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्)

Logo