जीबी राईको राहदानी रोक्का

जीबी राईको राहदानी रोक्का

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रोक्का भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले बतायो । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न नमिल्ने भएको छ ।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया भने यसबारे अनुसन्धान चलिरहेको बताउँदै विस्तृतमा खुलाएनन् । ‘केही कामहरू भइरहेका छन् । अनुसन्धानकै क्रममा रहेकाले केही भन्ने अवस्था छैन’ ओलियाले भने ।

जीबीको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले ३० वैशाखमा राहदानी विभागलाई पत्र पठाएको थियो । तर त्यतिबेला विभागले जीबीको राहदानी बदर गर्न नमिल्ने भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।

राहदानी ऐन २०७६ र नियमावली २०७७ अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष थियो ।

नेपालको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ । ऐनअनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, आतंकवाद लगायतका केही आरोप लागेका व्यक्तिको हकमा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गर्नसक्ने व्यवस्था छ । त्यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्नसक्ने ऐनमा व्यवस्था छ ।

ऐनमा कुनै पनि कसुर र अपराध गरेका कारण नेपाली नागरिकको राहदानी रद्द हुने परिकल्पना नभएको भन्दै उनको राहदानी रोक्का र रद्द दुवै हुन सकेको थिएन । अहिले जीबीलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको समेत मुद्दा चलाइएकाले राहदानी रोक्काको बाटो खुलेको थियो ।

Logo