हेल्पिङ हर्ट नेपालद्वारा शैक्षिक छात्रवृत्ति वितरण

हेल्पिङ हर्ट नेपालद्वारा शैक्षिक छात्रवृत्ति वितरण

काठमाडौं एक्सप्रेस

काठमाडौं – हेल्पिङ हर्ट नेपालले शैक्षिक छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ।

जियाउद्दिन खानको अध्यक्षतामा आयोजित कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा ३८ जना विद्यार्थीलाई जनही ३५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

विगतदेखि शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा योगदान गर्दै आएको हेल्पिङ हर्ट नेपालले यो कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन प्रयास गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरूमा देशको लागि केही गर्नुपर्छ भन्ने भावना जागृत गर्नुपर्नेमा जोड दिनुभएको छ । उनले भने,“आजको पुस्ताले आफ्नो लागि मात्रै नभई देशका लागि योगदान दिने सोच राख्न आवश्यक छ । युवाहरूको सोचमा सकारात्मक परिवर्तन र केही गरौँ भन्ने भावनाको वृद्धि हुनुपर्छ ।“

अध्यक्ष अन्सारीले मुस्लिम समुदायका युवाहरूका लागि लोकसेवा तयारीको व्यवस्था गरिएको तर विद्यार्थीहरू बीचमै छोडेर जाने स्थितिको अन्त्य गर्नुपर्ने बताए । साथै, उनले निजामति सेवामा मुस्लिम समुदायका युवाहरूको न्यून उपस्थिति प्रति चिन्ता व्यक्त गर्दै यो स्थिति सुधार्नको लागि थप प्रयास गर्नुपर्नेमा जोड दिए ।

हेल्पिङ हर्ट नेपालले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

Logo