अनेरास्ववियुले लोकसेवा आयोग र शिक्षक सेवा आयोगको नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने

अनेरास्ववियुले लोकसेवा आयोग र शिक्षक सेवा आयोगको नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं- अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि नि:शुल्क रुपमा तयारी कक्षाहरु सञ्चालन गर्ने भएकाे छ  ।

कमिटीकाे पुस १ गते बसेको तेस्रो पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठक अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता र अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले तयारी कक्षाहरु सञ्चालन गर्न लागेको अनेरास्ववियुले विज्ञप्तिमा जनाएको छ । 

विभिन्न पेसा व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युट पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्न नसकेका युवालाई लक्षित गरी सो कक्षा सञ्चालन गर्न लागिएको संगठनले जानकारी दिएको छ । 

लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ ।  त्यसको लागि पुस १५ गते भित्र गुगल फारम भर्नुपर्ने छ ।  

कक्षा सञ्चालनको लागि अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाले  जुटाउने जिम्मेवारी लिनुभएको छ ।  विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरू तथा पेसा, व्यवसायको कारण अध्ययनमा कम समय दिने युवालाई कक्षा सञ्चालन गर्न लागिएको तिमिल्सीनाले जानकारी दिनुभयो ।

Logo