जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

काठमाडौं एक्सप्रेस

धरान (सुनसरी), – जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।

धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छन् । उनीले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट घरखर्च जुटाउने गरेको उनले सुनाइन् ।

उनी भक्का प्रतिगोटा रु २० दरले बिक्री गछिन् । उनले भनिन्,“भक्का बिक्रीबाट दैनिक रु तीन हजार पाँचसयसम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” उनीले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकिछिन्, । उनका अनुसार स्थानीयहरु मर्निङ वाकदेखि नै भक्का खान झम्मिन्छन् ।

धरान उपमहानगर–१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाईन् । “भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ ।”

धरान उपमहानगर–१३ का विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताईन् । उनले भनिन्, “जाडो सुरु भएपछि भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान–१३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।”

चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै रु दुई सय पर्ने गरेको उहाँको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु २० पुगेको उनले सुनाईन् ।

उनका अनुसार दैनिक औसतमा रु चार हजारको भक्का र आलुचप बिक्री भइरहेको छ । जाडोमा अन्यत्र काम खोज्दै जानुभन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उनको भनाइ छ ।

धरान उपमहानगर–१५ का सिमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाईन् । उनले भनिन्,“जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ ।” उहाँका अनुसार दैनिक पाँच केजी चामलको भक्का बिक्री भइरहेको छ ।

Logo