सिरहा, – आजभोलि जमुना सदायलाई ज्याला मजदुरीको काम खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ । लहान नगरपालिका–१२ की जमुना बाख्रापालन र तरकारीखेतीमा रमाउन थालेका छन् । कृषि र पशुपालन पेसाबाट उनको परिवारको जीविकोपार्जन हुनुका साथै आम्दानी पनि भइरहेको बताउँदै उनले अहिले अरूको घरमा काम खोज्दै जानुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गरे ।
तराई मधेशका अधिकांश विपन्न दलित समुदायका युवा कामको खोजीमा भारतका विभिन्न सहरमा भौँतारिरहेका हुन्छन् । गाउँमा भएका महिला र पुरूषहरू जीविकोपार्जनका लागि अरूको घरमा ज्याला मजदुरी गर्न बाध्य छन् । नाना, छाना र खानाको अभावमा रोग, भोक र शोकमा जीवन व्यतित गर्ने दलित समुदायको दैनिकीलाई कृषिकर्मबाट जमुनाले केही हदसम्म पार लगाएका छन् ।
“बाख्रा पालेकी छु । बटैया (बटिया)मा भए पनि खेती गरेकी छु । धान रोप्ने, तरकारी उब्जाउनेबाट आफूलाई खान र बजारमा लगेर बिक्री गरी आम्दानी गर्न पुगेको छ”, जानुकाले भने, “सधँै अर्काकोमा गएर मजदुरी गर्नुभन्दा आफ्नै पौरखमा खुसी मिलेको छ ।” उनले कृषिकर्मबाट परिवारको खर्च, बालबच्चाको पालनपोषण र अध्ययन खर्च जुटाइरहेको बताए ।
सोही टोलकी उर्मिलादेवी सदायको भोगाइ पनि जमुुनाको जस्तै छ । तरकारीखेती र पशुपालनबाट दैनिक जीवनयापनको परिभाषा बदलिएको उनले बताए । जमुना र उर्मिलादेवीका छोरी अञ्जलीकुमारी सदाय र आरतीकुमारी सदायले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गरिरहेका छन् । पठनपाठनमा खासै ध्यान नदिने यहाँका दलित समुदायभित्र, त्यो पनि छोरीलाई १२ कक्षासम्म अध्ययन गराएर समाजमा एउटा उदाहरण प्रस्तुत गर्नुभएको छ जमुना र उर्मिलादेवीले ।
“हामीले नपढेर दुःख पायौैँ । कालो अक्षर भैँसी बराबर भएको छ । सधैँभरि अर्काकै भरमा, मजदुरी गरी जीवन निर्वाह गर्नुपरेको छ”, पीडा पोख्दै आरती उर्मिलादेवीले भने,“अब त्यही नियती छोराछोरीले भोग्नु नपरोस् । उनीहरूले हाम्रो जस्तो दुःख नपाऊन् ।” दुई छोराछोरीमध्ये छोरा सुरज सदाय कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।
भोटियाटोलमा १९ दलित परिवार छन् । तीमध्ये १७ परिवार मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी सामूहिक बचतसमेत गर्दै आएका छन् । स्थानीय अधिकार कार्यक्रमअन्तर्गत ‘एक्सन एड’को आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लबले यहाँका विपन्न दलित बस्तीमा महिला समूह बनाई आयआर्जनका लागि कृषि र पशुपालनको उपर्युक्त वातावरण निर्माण गरिदिएको हो ।
क्लबका सामाजिक परिचालक सुमन चौधरीका अनुसार आयआर्जनका लागि यहाँका १७ दलित परिवारलाई गत वर्ष प्रतिघर दुईवटा उन्नत जातका बाख्रा वितरण गरिएको हो । यस वर्ष आठ परिवारलाई १६ वटा बङ्गुर वितरण गरिएको उनले जानकारी दिए ।
समूहका महिलाले मासिक रू एक सय बचत गर्ने गरेका समूहका अध्यक्षसमेत रहनुभएकी जमुनाले बताए । उनका अनुसार हालसम्म कोषमा जम्मा रु एक लाख ५० हजार बचत भइसकेको छ । उक्त रकम सस्तो ब्याजदरमा व्यवसायका लागि पालैपालो समूहका महिलाहरूले चलाउने गरेको उनले जनाकारी दिए ।
प्रतिक्रिया