लम्की (कैलाली), – जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास गरिएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज उक्त केबलकार शिलान्यास गरेकिहुन् । लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा तीन दशमलव एक किलोमिटर लामो केबलकार निर्माण गरिने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा देउवाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताईन् ।
“सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल सम्पन्न हुनुका साथै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन्”, उनले भनिन्,“सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिमकासाथै समग्र मुलुकको समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हुनेछ ।”
“काठमाडौँको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरूको दक्षता, अनुभव र क्षमताअनुसार यो केबलकार प्रोजेक्ट समयमा सम्पन्न होस् भनी कामना गर्दछु”, उनले भनिन् ।
लम्की चुहाँ नगरपालिका–३ को चिसापानीबाट मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने तीन दशमलव एक किमी लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल रु पाँच अर्ब लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याङ्क्वेट हल निर्माण हुनेछन्भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् ।
प्रतिक्रिया