धर्मगुरुलाई समुदायको उत्थानका लागि काम गर्न आग्रह

धर्मगुरुलाई समुदायको उत्थानका लागि काम गर्न आग्रह

काठमाडौं एक्सप्रेस

नेपालगञ्ज – मुस्लिम समुदायका अगुवा तथा धर्मगुरु, शिक्षक, मदरसा सञ्चालकलाई समुदायको उत्थान र विकासका लागि काम गर्न आग्रह गरिएको छ ।

प्लान इन्टरनेसनल र युनेस्को क्लब बाँकेको सहकार्य तथा मुस्लिम आयोगको आयोजनामा आज यहाँ भएको ‘मुस्लिम बालबालिका तथा युवाहरूको उत्थानका लागि इमामहरूको भूमिका’ विषयक अभिमुखीकरणमा सरोकार भएकाले सो आग्रह गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले यस क्षेत्रका मुस्लिम बालबालिका तथा युवाको शैक्षिक अभिवृद्धिका लागि रु पाँच करोड बजेट भित्र्याएको उल्लेख गर्दै मुस्लिम समुदाय, बालबालिका तथा युवाका लागि नीतिगत सुधार गर्दै कानुन निर्माणमा जोड दिनुपर्ने बताए ।

“मुस्लिम समुदायका बालबालिका तथा युवा वर्गको क्षेत्रमा आफू सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रतिबद्धता जनाउँछु”, उनले भने,। समुदायको उत्थानका लागि नीतिगत सुधार र कानुन निर्माणमा जोड दिने उनको भनाइ छ ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिम समुदायको अवस्था दयनीय भएको उल्लेख गर्दै इमामको काम नवाज पढाउने मात्रै नभएको बताए । उनले मुस्लिम समुदायभित्र शिक्षा, स्वास्थ्य र समाजमा पहुँच बढाउन आवश्यक भएकाले इमामले पहल गर्नुपर्ने भन्दै आयोगले सरकारसँग सम्बन्धित विषयमा छलफल गरिरहेको जानकारी दिए ।

आयोगका सदस्य मिर्जा अरसद वेगले आयोगले समाजलाई जोडनका लागि इमामहरूको भूमिका प्रभावकारी बनाउन पहल गरिरहेको बताए । खजुराकी किशोरी रहेमत जहा खाँले मुस्लिम समुदायका छोरीहरूलाई शिक्षाको पहुँच विस्तार गर्न विद्यालय पठाउन आवश्यक रहेको बताए । “धेरै छोरीहरू पढ्न चाहन्छन्, अभिभावक पढाउन चाहँदैनन्, अभिभावकलाई इमामहरूले सहजीकरण गरिदिनुप¥यो”, उनले भने, ।

युवा साहिल अन्सारीले मुस्लिम समुदायका युवा तथा बालबालिकासम्बन्धी संविधानमा अधिकार लेखेर मात्र नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन भए÷नभएको निगरानी आयोगले गनुपर्ने बताए । “मुस्लिम समुदायका युवाहरू अहिले पनि उच्च शिक्षा पढ्न पाउँदैनन्, घर चलाउनका लागि पढाइ छाड्न बाध्य छन्”, उनले भने,। मुस्लिम युवाहरूलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ ।

नागरिक अगुवा बद्रे आलम खाँले कतिपय अवस्थामा धर्म गुरुहरूको लाइसेन्स खारेज गर्ने काम भइरहेको भन्दै त्यसमा पनि आयोगको निगरानी गर्नुपर्ने आवश्यकता औँल्याए । “इमामको काम मस्जिदमा प्राथना गर्ने मात्र होइन् सामाजिक शिक्षा, आर्थिक क्षेत्रमा आफ्नो आवाज राख्नु पनि हो”, उनले भने, ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले मुस्लिम धर्ममा शिक्षा ग्रहणका लागि चीनसम्म जान सकिने कुरा उल्लेख गरे पनि धर्मका प्रचारकहरूले यसलाई समुदायस्तरमा बुझाउन नसकेकाले अहिलेको परिस्थिति सिर्जना भएको बताए ।

कार्यक्रममा प्लानका प्रतिनिधि इर्साद अलि अन्सारी, साजिद अलि सिद्धिकीलगायत वक्ताले मुस्लिम समुदायका युवा तथा बालबालिकासम्बन्धी प्रस्तुति गरेका थिए । नागरिक अगुवा उवेदु रहमान खाँले मुस्लिम धर्मशास्त्र तथा इमामहरूको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए । मस्जिदमा रहने धर्मगुरुलाई इमाम भन्ने गरिन्छ । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत र कैलालीबाट ६० जना भन्दा बढीको सहभागिता थियो ।

Logo