प्रशासक भन्छन्,' कुलपतिको हैसियतमा प्रधानमन्त्रीले नियुक्त गर्ने कुनै उपकुलपतिको मर्यदाक्रममा हुने कसैको नहुने भन्ने हुन्छ । प्रधानमन्त्री पदकै अपमान हो'
काठमाडौं/ राष्ट्रियसभाबाट गत वर्ष पारित भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०८०’मा प्रधानमन्त्री कुलपति हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का उपकूलपति लाई कुनै स्थान नै नदिईएको पाइएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रको देशकै सर्वोच्च निकाय नास्टलाई सरकारले बेवास्ता गर्दै मर्यादक्रममा समेत उक्त संस्थाको उपकुलपतिलाई स्थान नदिएको हो ।
सरकारले पारित गरेको उक्त विधेयकमा नेपाल सरकारको सचिव,राजपत्रांकित विशिष्ठ श्रेणी वा सो-सरहको अधिकृतलाई उपकुलपतिभन्दा माथि राखिएको छ । मर्यादाक्रमको १७ नम्बरमा ‘नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति’लाई मात्रै उल्लेख गरिएको छ । तर नास्टको उपकूलपतिलाई भने कुनै स्थान नै दिइएको छैन ।
प्रतिनिधिसभाको आगामी हुने हिउँदे अधिवेशमा राष्ट्रियसभाबाट पारित भएको उक्त विधेयक पेश गर्ने सरकारको तयारी छ ।
कुनै समय त्रिभुवन विश्वविद्यालयका उपकुलपतिभन्दा नास्टका उपकुलपतिलाई मर्यादाक्रममा अघि राखिन्थ्यो । विसं २०४४ सालको राजपत्रमा तत्कालीन रोनास्टका उपकुलपतिको मर्यादाक्रम त्रिविको उपकुलपतिभन्दा माथि हुन्थ्यो । तर सरकारले बनाएका पछिल्ला मर्यादाक्रमहरूमा भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको नाम कतै उल्लेख नै छैन ।
कतिसम्म भने मन्त्री मातहत हुने सचिव र प्रधानमन्त्री मातहत हुने उपकुलपतिलाई सचिवभन्दा तल राखिएको छ । राष्ट्रिय सभाबाट पारित भएको विधेयकमा सचिवलाई १६ नम्बरमा राखिएको छ भने १७ नम्बरमा ‘नेपाल प्रज्ञा प्रतिष्ठान’को उपकूलपतिलाई समावेश गरेको छ । नास्टको नाम भने कतै उल्लेख नै छैन ।
नास्टको प्राज्ञ सभाको अध्यक्षता कूलपति रहने प्रधानमन्त्रीले गर्दछन् । प्राज्ञ सभामा देशका ख्याति प्राप्त प्राध्यापक तथा प्राज्ञहरू प्राज्ञ सदस्य हुने व्यवस्था छन् । उक्त प्राज्ञ सभाको अध्यक्षता गर्ने कूलपति र प्राध्यापकहरुको मर्यादाक्रममा हुन्छ भने नास्टको उपकुलपतिको भने कुनै हैसियत नै दिइएको छैन ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने विज्ञहरू यसले सरकारको रवैया झल्काउने बताउँछन् । अनुसन्धानकर्मी विशाल लिम्बू भन्छन्,’यो विज्ञान तथा प्रविधि क्षेत्रलाई नै राज्यले बेवास्ता गरेको देखिन्छ । प्रधानमन्त्री कुलपति हुने विश्वविद्यालयका उपकुलपतिलाई स्थान दिइएको छ । त्यही कुलपतिले नियुक्ति गर्ने नास्टको उपकुलपति मर्यदाक्रममा कतै उल्लेख छैन । यो त प्रधानमन्त्रीकै अपमान हो । ‘ अर्का अनुसन्धानकर्मी रमेश श्रेष्ठ भने नास्टले राज्यले दिएको बजेट अनुसार काम गरेपनि बाहिर नदेखिँदा नकरात्मक सूचनाहरू गएकाले वा बिर्सिएर छुटेको हुन सक्ने बताए ।
सरकराले यसअघि २०७६ सालमा ल्याएको मर्यादाक्रममा पनि नास्टका उपकुलपतिलाई स्थान दिइएको थिएन । उक्त मर्यादाक्रममा ‘प्रज्ञा प्रतिष्ठानका उपकुलपति’ लेखिएपनि त्यसले नेपाल प्रज्ञा प्रतिष्ठानलाई मात्रै झल्काउँछ । त्यसबेला पनि प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलाई सचिवभन्दा पछाडि राखिएको थियो । २०७६ को राजपत्रमा प्रकासितमा १३औंमा नेपाल सरकारको सचिव हुँदै तल प्रज्ञा प्रतिष्ठानका उपकुलपति लेखिएको छ ।
मर्यदाक्रम निर्धारण गर्दा सरकार नै अलमलमा परेको देखिन्छ । कुलपति प्रधानमन्त्री हुने क्षेत्रमा उपकुलपतिको नियुक्ती कुलपतिले गर्दछन् । कुनै उपकुलपतिहरूलाई मर्यदाक्रममा समावेश गरिएको छ भने कुनैमा स्थान नै दिइएको छैन । प्रक्रिया र विधि हेर्दा उपकुलपतिको चयन कुलपतिले गर्ने गरेको देखिएपनि यसले प्रधानमन्त्री पदकै अपमान गरेको देखिन्छ । पूर्व प्रशासक गोपाल भण्डारी भन्छन्,’कुलपतिले नियुक्त गर्ने उपकुलपतिहरूको हैसियत सबैको समान हुनुपर्ने हैन र ? कसैको मर्यदाक्रममा हुने कसैको नहुने । यस्तो नि हुन्छ काँही ? यो त प्रधानमन्त्री पदकै अपमान हो । ‘
प्रतिक्रिया