काठमाडौं, – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंकहरूले लगानी बढाउन नसक्नुको कारण बैंकरहरूले स्पष्ट पार्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजना गरिएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारणासभा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले भने, ‘आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् ? कि सरकारले लिइरहेकै छ, किन जोखिम लिनुप-यो भनेर लगानी नगरिएको हो ?’
घरजग्गामा मात्रै ऋण दिने गरिएकोले क्षमता भएकाहरूलाई बैंकले ऋण नदिएकोमा मन्त्री भण्डारीले आपत्ति जनाए । जनता मारमै रहने तर बैंकहरू मोटाउँदै जान नहुने उनको तर्क छ ।
‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन्’, उनले भने, ‘हामी सम्भावनालाई छोड्दै गइरहेका छौं । कृषि क्षेत्रमा बैंकहरूको लगानी कति छ ? उद्योगमा लगानी कति छ ? ‘
अर्थतन्त्रमा आएको शिथिलतालाई कसरी सुधार गर्न सकिन्छ भन्ने मुख्य कुरा रहेकाले एक अर्काको टाउको देखाएर पन्छिने काम गर्न नहुने भण्डारीले बताए ।
अहिलेका चुनौतीहरूलाई समाधान गर्नका लागि यो सरकार बनेको समेत उनले दाबी गरे । अहिले सबै पालिकामा वित्तीय संथा पुगेकोले सबै सर्वसाधारणले सेवा लिइरहेको समेत उनको भनाइ थियो ।
प्रतिक्रिया