बाँकेको राप्ती नदीमा गोही गणना सुरु

बाँकेको राप्ती नदीमा गोही गणना सुरु

काठमाडौं एक्सप्रेस

जानकी (बाँके), – बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण तथा निरीक्षणका साथै गणना सुरु गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पँगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ । “गोहीको अवस्थाको जानकारी लिनका लागि गणना सुरु गरेका छौँ”, उनले भने, “शनिबार दुई घडियाल गोही र एउटा मगर गोही फेला पा¥यौँ, नदीमा गोही रहनसक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको अवस्थाबारे जानकारी लिँदैछौँ ।”

गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही ‘सिटिजन साइन्टिस्ट’ सहभागी रहेको उनको भनाइ थियो । “गोहीको संरक्षण गर्ने दायित्व स्थानीय समुदायको पनि भएको हुनाले हामीले स्थानीय समुदायका केही व्यक्तिलाई यसका बारेमा तालिम दिने र विभिन्न कार्यक्रममा सहभागी बनाएर उहाँहरूलाई गोही संरक्षणका बारेमा जानकारी दिने गरेका छौँ”, उनले भने,“गोहीको गणनामा पनि स्थानीय समुदायका केही सिटिजन साइन्टिस्टलाई सहभागी बनाएका छौँ, यसबाट उनीहरूले गोहीका बारेमा थप जान्नुहुनेछ र गोही संरक्षणमा उनीहरू अग्रसर हुनुहुनेछ ।”

बाँके र दाङको सिमानामा पर्ने शिव खोलाबाट राप्ती नदीमा गोहीको गणना कार्य सुरु गरिएको सूचना अधिकारी पँगेनीले जानकारी दिए । “हामीले नदीको कुसुम, अगैयालगायत क्षेत्रमा रहेका घडियालसहित अन्य गोहीको पनि अवस्था जानकारी लिँदैछौँ”, उनले भने,“हरेक वर्ष गोही ल्याएर छाडेर मात्र हुँदैन, उनीहरूको अवस्था के छ ? कति जीवित छन् ? उनीहरूको आहाराको अवस्था के कस्तो छ ? जस्ता कुराहरूको जानकारी सर्वेक्षण, निरीक्षण र गणनाबाट मात्रै लिन सकिने हुँदा केही वर्षयता हरेक वर्ष राप्ती नदीमा गोही गणना गर्दै आइरहेका छौँ ।”

गत वर्ष मात्र चितवनबाट १४ घडियाल गोही ल्याएर राप्ती नदीमा छाडिएको थियो । हरेक वर्ष उनीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि निकुञ्जले गोहीको सर्वेक्षण, निरीक्षण तथा गणना गर्दै आएको जनाएको छ । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको र बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

Logo