महालक्ष्मी नगरपालिकाको १७ औँ नगर अधिवेशन सम्पन्न

महालक्ष्मी नगरपालिकाको १७ औँ नगर अधिवेशन सम्पन्न

काठमाडौं एक्सप्रेस

ललितपुर- ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको १७ औँ नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ। वडा नम्बर ९ स्थित लामाटारमा भएको अधिवेशनको शुभारम्भ गर्दै नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नगरको समृद्धि, सेवा प्रवाहको प्रभावकारिता तथा नीतिगत सुधारका विषयमा महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो।

नगर प्रमुख श्रेष्ठले अधिवेशनले नीतिगत अवरोध हटाउने, सेवा प्रवाहलाई सहज बनाउने, कर प्रणालीलाई थप स्पष्ट पार्ने र अपुग जनशक्ति व्यवस्थापनलाई सम्बोधन गर्ने लक्ष्य लिएको बताउनुभयो। साथै, हालैको बाढी-पहिरोबाट ज्यान गुमाउने सात नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उद्धार तथा राहत कार्यमा संलग्न सम्पूर्ण निकायहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

नगरको समग्र विकासका लागि संकल्प व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तिको विषय निष्कर्षमा पुग्न लागेको जानकारी गराउनुभयो। साथै, स्वास्थ्य प्रवर्द्धनका लागि लुभुमा २५ शैयाको मातृ-शिशु अस्पताल निर्माण गर्न KFW सँग सम्झौता भइसकेको उल्लेख गर्दै यसले नगरलाई थप सशक्त बनाउने बताउनुभयो। ‘मेयर-जनता स्वास्थ्य कार्यक्रम’ प्रति नागरिकको सकारात्मक प्रतिक्रिया रहेको उल्लेख गर्दै उहाँले नयाँ वडा कार्यालयमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। FRA तथा LISA को सूचकांकमा देखिएको सुधार नगरपालिकाको सुशासन प्रतिबिम्बित गर्ने प्रमाण भएको उहाँको भनाइ थियो।

अधिवेशनमा विभिन्न विषयगत समितिहरूका प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो। वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी प्रतिवेदन वडाध्यक्ष विजय लामाले प्रस्तुत गर्नुभयो भने आर्थिक विकास प्रतिवेदन वडाध्यक्ष छिरिङ लामाले पेश गर्नुभयो। पूर्वाधार विकास प्रतिवेदन वडाध्यक्ष अमृत खत्रीले, सामाजिक विकास प्रतिवेदन वडाध्यक्ष बाबुराजा महर्जनले र संस्थागत विकास प्रतिवेदन वडाध्यक्ष विश्वराज श्रेष्ठले प्रस्तुत गर्नुभयो।

त्यस्तै, न्यायिक समितिको प्रतिवेदन वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले पेस गर्नुभएको थियो। उपभोक्ता समितिबाट योजना सञ्चालन गर्ने सम्बन्धी नीतिगत व्यवस्था कुवेर केसीले, राजस्व दररेट संशोधन सम्बन्धी प्रस्ताव धर्म महर्जनले र कर्मचारी दरबन्दी सम्बन्धी प्रस्ताव वडाध्यक्ष ध्रुव केसीले प्रस्तुत गर्नुभएको थियो। नगर सभाले योजना तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गर्दै अर्धवार्षिक समीक्षाको आधारमा नगर विकासलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ।

नगर प्रमुख श्रेष्ठले नगरपालिकाले कानूनी शासनसहित सुशासित नगर निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नगरवासीको अपेक्षाअनुरूप योजनाहरू अघि बढाइने बताउनुभयो। ललितपुर महानगरपालिकासँगको सहकार्यलाई प्रशंसनीय ठहर गर्दै उहाँले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट तथा आवश्यक संशोधनहरू नगरको समृद्धि र नागरिक सुखका लागि प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

नगर सभाको सफल समापनसँगै महालक्ष्मी नगरपालिकाले आफ्नो विकास योजनाहरूलाई थप गति दिने अपेक्षा गरिएको छ।

नगर प्रमुखको भनाइ जस्ताको तस्तै

महालक्ष्मी नगरपालिकाको नगरसभाको १७औँ अधिवेशनमा यहाँहरूबीच उपस्थित भई सम्बोधन गर्न पाउँदा गौरवको महसुस गरेको छु। यस ऐतिहासिक क्षणमा उपस्थित सम्पूर्ण नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत लगायत सबैलाई हार्दिक स्वागत गर्दछु।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको अभियानमा शहादत प्राप्त गर्नुभएका ज्ञात-अज्ञात वीर शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै, यस्तो महत्वपूर्ण कार्यमा ऐक्यबद्ध रहने सम्पूर्ण महानुभावहरूप्रति सम्मान प्रकट गर्दछु।

हामीलाई महत्वपूर्ण अभिभारा सुम्पेर विकासको आकांक्षा सँगाल्ने नगरवासी आमा-बुवा, दाजुभाइ-दिदीबहिनीहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।

आज हाम्रो महालक्ष्मी नगरपालिकाको नगरसभाको १७औँ अधिवेशन प्रारम्भ हुँदैछ। यस अधिवेशनले कतिपय नीतिगत व्यवस्थाहरू गरी अवरोधहरू हटाउनेछ, कतिपय प्रस्तावहरूले सेवा प्रवाहलाई सहज एवं प्रभावकारी बनाउनेछन्। करको दरलाई थप स्पष्ट बनाउँदै अपुग जनशक्ति व्यवस्थापनलाई सम्बोधन गर्ने लक्ष्य लिइनेछ।

हालैको बाढी-पहिरोले हाम्रो नगरक्षेत्र समेत प्रभावित पार्दै दुःखद परिस्थिति निम्त्यायो, जसबाट ७ जना नागरिकको ज्यान गएको छ। मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने सम्पूर्ण निकायहरू, संघीय तथा प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संघ-संस्था, राजनीतिक-सामाजिक व्यक्तित्व एवं जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

विपद्को चुनौती सामना गर्न १६औँ नगरसभाले स्वीकृत गरेका योजना तथा कार्यक्रमहरूको पुनरावलोकन गर्दै केही परिमार्जन तथा नयाँ योजनाहरू सञ्चालनका लागि यो अधिवेशन मार्गदर्शक हुने विश्वास लिएको छु। हामी पाँच वर्षे यात्राको मध्यावधिमा छौं, आपसी एकता, सद्भाव र विश्वासको बलमा जनउत्तरदायी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। इतिहास बनाउने नाममा प्रस्तरमा लेख्न हतार नगरी, जनताको भावनामा लेखिने इतिहास निर्माण गर्ने हाम्रो संकल्प रहन्छ।

हाम्रो समृद्ध महालक्ष्मी नगर निर्माणका लागि सहयोग गर्नुहुने संघीय तथा प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू, सांसदज्यूहरू एवं राजनीतिक नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दछु। भविष्यमा समेत निरन्तर सहयोगको अपेक्षा गर्दछु।

कानूनी शासनसहित सुशासित नगर निर्माणका लागि हामी निरन्तर अघि बढ्दैछौं। प्रशासकीय भवनका लागि जग्गा प्राप्तिको विषय निष्कर्षमा पुग्न लागेको छ। स्वास्थ्य प्रवर्द्धनका लागि लुभुमा २५ शैयाको मातृ-शिशु अस्पताल निर्माणका लागि KFW सँगको सम्झौताले हामीलाई हर्षित तुल्याएको छ। ‘मेयर-जनता स्वास्थ्य कार्यक्रम’ प्रति नागरिकको विश्वास तथा सहभागिता, नयाँ वडा कार्यालयमार्फत सेवा प्रवाह, FRA तथा LISA मा गत वर्षभन्दा देखिएको उत्कृष्टता सेवा प्रवाह र सुशासनमा भएको प्रगति प्रतिबिम्बित गर्दछ।

आवधिक समीक्षाको निरन्तरता हाम्रो लागि मार्गदर्शन तथा प्रेरणाको स्रोत हो। हाम्रो विकास प्रयासमा ललितपुर महानगरपालिकाको सहयोग र सहकार्य प्रशंसनीय छ। चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक बजेट तथा त्यसमा आवश्यक संशोधनहरूले समृद्ध नगर, सुखी नगरवासी निर्माणका लागि टेवा पुर्‍याउनेछ।

यिनै आशा, भरोसा र विश्वासका साथ नगर विकासका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण जनप्रतिनिधि साथीहरू तथा नीति, योजना र कार्यक्रम कार्यान्वयनमा योगदान पुर्‍याउने कर्मचारी साथीहरूलाई धन्यवाद व्यक्त गर्दछु।

धन्यवाद।

हरिगोविन्द श्रेष्ठ
नगर प्रमुख
महालक्ष्मी नगरपालिका

Logo