ललितपुर- महालक्ष्मी नगरपालिका–८ स्थित जेनियस स्कूलबाट विश्व क्यान्सर दिवसको अवसर पारेर एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सुरु गरिएको छ। नगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्ध लक्षित किशोरीहरूलाई निःशुल्क खोप प्रदान गर्न यो अभियान सञ्चालन गरेको हो।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठले निरोगी नेपाल अभियानअन्तर्गत एचपिभी खोप कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उपप्रमुख लक्ष्मी महर्जनका अनुसार तोकिएको उमेर समूहका कुनै पनि किशोरी खोपबाट वञ्चित नहोस् भनेर यो पहल थालिएको हो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीका अनुसार महालक्ष्मी नगरपालिकाका ४५ विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका ५,९९७ किशोरीलाई खोप प्रदान गरिनेछ। जनस्वास्थ्य निरीक्षक भरत बोहराले खोप पूर्ण रूपमा सुरक्षित र निःशुल्क रहेको जानकारी दिए ।
यो अभियान देशभर एकैसाथ आजदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया