काठमाडौं, – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई लक्षित गर्दै देश र जनताप्रति घात नगरी आफ्नो एजेण्डामा उभिए सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पास नहुने बताएका छन् ।
महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसपा नेपाल आफ्नो अडानमा टिके सरकारमाथि गम्भीर नैतिक प्रश्न खडा हुनेवाला रहेको बताए ।
उनले भने, ‘सरकारले अध्यादेश राष्ट्रियसभा र प्रतिनिधिसभामा टेबुल गरेको छ । राष्ट्रियसभामा गाँठा परेर बसेको छ । मधेशी जनताको हितको कुरा गर्ने, पहिचान र अधिकारको कुरा गर्ने, लोकतन्त्र, गणतन्त्र र संघीयताको कुरा गर्ने दलले जनताप्रति घात नगर्ने हो र आफ्नो एजेण्डाप्रति इमानदार भए राष्ट्रियसभाबाट पास हुनेछैन । यसै पनि जनतामा प्रश्न त खडा भएकै छ । जनतामा सरकारप्रति देखिएको वितृष्णा देखिएको छ, अब पारित नहुने स्थिति बन्दा जे होला हामी विपक्षहरु सदन र सडकबाट सामाजिक न्याय र सुशासनको पक्षको अभियान चलाउँदैछौं ।’
प्रचण्डले आफूहरु कसैको बैशाखी नटेकी एक्लै हिँड्ने बताए ।
उनले आफू नेतृत्वको लोकप्रिय सरकारलाई अहिले ढाले पनि जनताको बलबाट फेरि सत्तामा फर्किने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया