म्याग्दी : भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडकअन्तर्गत मालढुङ्गा–फर्से खण्डमा कालोपत्र गर्ने काम सकिएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म कालोपत्र भएको हो । योजनाका सव–इञ्जीनीयर सोहनजङ कार्कीले मालढुङ्गा–फर्से खण्डमा पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको जानकारी दिए । “१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर ढलान भइसकेको छ,” उनले भने,“केराबारी–मिलनचोक खण्डमा थप दुई किलोमिटर सडक दुई हप्तापछि कालोपत्र गर्ने लक्ष्यसहित संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।”
मालढुङ्गा–बेनी सडकलाई ११ मिटर (दुई लेन) फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
यस खण्डको हालसम्मको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर क्षेत्रमा विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ ।
पर्वतबेनी, मिलनचोक र लस्ति बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घर, टहरा भत्काउन ढिलाइ हुँदा निर्माणको काम अघि बढ्न सकेको छैन् । विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकोमा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । सडक निर्माणलाई गति दिन जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाले दबाब दिँदै आएका छन् ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यसै आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।
प्रतिक्रिया