ललितपुर– महालक्ष्मी नगरपालिकाले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमसहित मनाएको छ। ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ शुक्रबार नगरपालिकाले खुला कविता प्रतियोगिता आयोजना गरी दिवस मनाएको हो।
कार्यक्रमको उद्घाटन नगर प्रमुख हरिगोविन्द श्रेष्ठले गरेका थिए। उनले महिला अधिकार, समानता, र सशक्तिकरणका लागि सबै तह र तप्काबाट सहकार्य आवश्यक रहेको बताए। ‘समाजको समृद्धि महिला सशक्तिकरणबाट मात्रै सम्भव छ,’ उनले भने, ‘महिलाले समान अवसर पाए मात्र समाजले समृद्धि हासिल गर्न सक्छ। हाम्रो नगरले महिलामैत्री नीति र कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने छ।’
उपप्रमुख लक्ष्मी महर्जनले पुरुष दाजुभाइको साथ र सहयोगले महिला सशक्त हुने बताइन्। ‘हामी नारी हौं, महिला हौं, तर कसैको ‘आइमाई’ होइनौं। नारीलाई कमजोर होइन, सक्षम व्यक्तिका रूपमा हेर्नुपर्छ,’ उनले भनिन्। महर्जनले महिला सशक्तिकरणका लागि महिलाहरू आफैं जागरुक हुनुपर्नेमा जोड दिँदै संविधानले दिएको अधिकारको उपयोग गर्न आह्वान गरिन्।
कार्यक्रम अन्तर्गत खुला कविता प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा ४९ जना महिला, पुरुष, तथा विद्यार्थीहरू सहभागी भएका थिए। उक्त प्रतियोगितामा कृष्ण बहादुर विष्ट प्रथम भएका छन्।
सामाजिक विकास शाखाका अधिकृत तथा कार्यक्रम उद्घोषिका विनिता शर्माले प्रतियोगिताका नतिजा सार्वजनिक गर्दै विजयी प्रतिभालाई बधाई दिइन्।
प्रतिक्रिया