काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।
हालसम्म प्राप्त आंकडा अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थानमा छ । अनेरास्ववियुले ३२ स्थानमा आफ्ना स्ववियु अध्यक्ष निर्विरोध चयन भएको उक्त संगठनका सचिव सञ्जिव धितालले बताए ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएको उपाध्यक्ष मदन ढकालले जानकारी गराए ।
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।
अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बाट निर्विरोध भएका क्याम्पस र अध्यक्षको नामावली सार्वजनिक गरेको छ । नेविससंघले भने निर्विरोध भएका क्याम्पसहरूको सूची मात्रै पठाएको छ ।
अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ । सम्बन्धन प्राप्तमा कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचन हुने गरेको छैन ।
स्ववियु निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया