खाद्य क्षय घटाउन वैज्ञानिकहरूले उठाए मुद्दा, ठोस रणनीति ल्याउन माग

खाद्य क्षय घटाउन वैज्ञानिकहरूले उठाए मुद्दा, ठोस रणनीति ल्याउन माग

काठमाडौं एक्सप्रेस

नेपालका खाद्य क्षेत्रका वैज्ञानिकहरूले खाद्य सुरक्षाका लागि खाद्य वस्तुको मापन आवश्यक रहेको औँल्याएका छन् । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ (नेफोस्टा) र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्य वस्तुको मापन सम्बन्धमा आयोजना गरेको एक दिवसीय कार्यशालामा वक्ताहरूले खाद्य सुरक्षाका लागि खेर जाने खाद्य वस्तुको मापन अपरिहार्य रहेकको औल्याएका हुन् । उनीहरूले खाद्य प्रणालीमा सुधार र दिगो भविष्य सुनिश्चित गर्न आवश्यक रणनीतिबारे बहस र छलफल समेत गरेका संघका महासचिव डा. आलोक श्रेष्ठले बताए ।

हरेक वर्ष विश्वमा उत्पादन हुने करिब एक तिहाई खाद्य वस्तु क्षय हुने गरेको छ । यसले खाद्य सुरक्षा, वातावरणीय सन्तुलन र आर्थिक स्थायित्वमा गम्भीर असर पारेको विज्ञहरूले बताएका छन् । नेपालमा मात्र खाद्य हानी र फोहोरका कारण कूल ग्राहस्थ उत्पादनको वार्षिक ८.७ प्रतिशत बराबरको नोक्सानी हुने संघले जनाएको छ । खेर जाने उक्त वस्तुको मूल्य करिब ५ देखि ५.५ खर्ब रुपैयाँ बराबर हुने संघको ठम्याई छ । यस्ता नोक्सानी न्यूनीकरण गर्न सकिएमा देशले २.५ देखि ३ खर्ब रुपैयाँसम्म जोगाउन सक्ने सम्भावना देखिएको खाद्य वैज्ञानिक समेत रहेका महासचिव श्रेष्ठले बताए । कार्यशालामा विज्ञहरूले खेर जाने खाद्य वस्तुलाई जोगाउन सके करिब १.२५ लाख प्रत्यक्ष र १२.५ लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने प्रस्तु गरेका थिए ।

कार्यशालाको पहिलो चरणमा खाद्य हानी र फोहोरको राष्ट्रिय मूल्याङ्कन प्रारम्भ गर्ने, बहुहितकारी टास्क फोर्स गठन गर्ने, मूल्यांकनमा आधारित समाधान डिजाइन गर्ने, सार्वजनिक तथा निजी क्षेत्रको प्रतिबद्धता सुनिश्चित गर्ने र अनुगमन र सिकाइ प्रणालीलाई संस्थागत बनाउने प्रस्तावहरू वैज्ञानिकहरूले सारेका थिए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गंगाप्रसाद खरेलले खाद्य वस्तुको मूल्यांकन र आवश्यकता रहेको औंल्याउँदै उनले खाद्य सुरक्षा तथा जलवायु कार्यमा योगदान गर्ने बताए । खाद्य व्यवस्था कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले वाणिज्य क्षेत्रमा खाद्यवस्तुको क्षति र हानीले पारेको प्रभावबारे विश्लेषण गरेका थिए । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नीति सुधार र पूर्वाधार निर्माणका आवश्यकतामा जोड दिएका थिए । राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश कुमार श्रेष्ठले खाद्य सुरक्षा न्यूनिकरणका लागि अन्तर मन्‍त्रालय सहकार्य र कार्यनीतिलाई एकरूपता दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा उत्पादनदेखि उपभोक्ता सम्मका सम्पूर्ण मूल्य शृंखलामा हुने खाद्य क्षतिलाई न्यूनीकरण गर्न प्याकेजिङ,यातायात सुधार र उपभोक्ता सचेतना अभियानको आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो ।

यसतै, सन् २०३० सम्म खाद्य फोहोरलाई आधा गर्न नेपालले ठोस तथ्यां, प्रमाणमा आधारित नीति, समन्वय गर्दै कार्यान्वयन र बहुहिताधिकारी सहभागितामा आधारित रणनीति तयार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यशालाबाट खाद्य फोहोर घटाउन रोडम्याप तयार भएको र आगामी दिनमा नेपालको खाद्य सुरक्षामा योगदान पुर्‍याउने, रोजगारीको अवसर सिर्जना गर्ने र वातावरणीय सन्तुलन कायम राख्‍न मद्दत पुग्‍ने महासचिव श्रेष्ठले बताए ।

Logo