ललितपुर- महालक्ष्मी नगरपालिकामा एआई एक्स-रे प्रयोग गरी समुदाय स्तरमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ ।
महालक्ष्मी नगरपालिका–९ मा बुधबार एक कार्यक्रममार्फत अभियान सकिएको हो । एआई एक्स-रे प्रयोग गरी शंकास्पद बिरामीहरूको परीक्षण गरी लुकेर रहेका सम्भावित क्षयरोगीहरू पहिचान गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शिविरमा जेष्ठ नागरिक, कारखानामा कार्यरत मजदुर, विगतमा क्षयरोगको औषधि सेवन गरिसकेका व्यक्ति तथा हाल क्षयरोगको उपचारमा रहेका बिरामीका परिवारका सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो।
एआई एक्स-रे मेसिन प्रयोग गरेर समुदायमा लुकेका सम्भावित बिरामीहरूलाई छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिने भएकाले यो प्रविधि भविष्यमा पनि प्रभावकारी हुने अपेक्षा गरिएको छ। शिविरमा सहभागी भएका बिरामीहरूको डिजिटल एक्स-रे रिपोर्टलाई तत्काल विश्लेषण गरी शंकास्पद बिरामीहरूलाई थप परीक्षण र उपचारको सिफारिस गरिएको जनस्वास्थ्य निरीक्षक भरत बोहराले बताउनुभयो ।
शिविर फागुन २५ गतेदेखि सुरू भई १० वटै वडामा चरणबद्ध रूपमा सम्पन्न गरिएको थियो। शिविरको दौरानमा १ हजार २ सय ५५ जना व्यक्तिहरूको एआई एक्स-रे परीक्षण गरिएको थियो भने तीमध्ये शंकास्पद देखिएका ७५ जनाको जिन एक्सपर्ट प्रविधिबाट खकार परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १२ जना क्षयरोगी पहिचान भएका छन्, जसलाई तत्काल औषधोपचारमा समेटिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
कार्यक्रमको अवलोकन गर्दै नगर प्रमुख हरिगोविन्द श्रेष्ठले लुकेर रहेका क्षयरोगीहरू पहिचान गरी समयमा उपचार गर्न सकिने भएकाले यस्ता प्रविधियुक्त स्वास्थ्य शिविरहरू अत्यन्तै उपयोगी र उपलब्धिमूलक भएको बताउनुभयो। उहाँले स्वास्थ्यकर्मीहरूलाई आफ्ना वडास्तरीय क्षेत्रमा यस्ता अभियानमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन समेत दिनुभयो।
कार्यक्रमको अन्तिम दिन राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरका निर्देशक श्रीराम तिवारीसहित प्राविधिक विशेषज्ञलाई नगर प्रमुख श्रेष्ठले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
अभियानमा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।
नगर उप–प्रमुख लक्ष्मी महर्जनले अभियान सफलतापूर्वक सम्पन्न भएकोमा स्वास्थ्य शाखा, चिकित्सकहरू र समग्र नगरवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताका लागि नगरपालिकाले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।
महालक्ष्मी नगरपालिका देशमै क्षयरोग न्युनीकरण अभियानमा अग्रपंक्तिमा रहेको “क्षयरोग रहित नगरपालिका” हो । यस्ता प्रविधिनिर्भर शिविरहरू मार्फत सो लक्ष्य प्राप्तिमा अझ सघाउ पुगेको नगरपालिकाको भनाइ छ ।



प्रतिक्रिया