नेविसंघको आयोजनामा नेपाल ल क्याम्पसमा निःशुल्क एलएलबी तयारी कक्षा सञ्चालन

नेविसंघको आयोजनामा नेपाल ल क्याम्पसमा निःशुल्क एलएलबी तयारी कक्षा सञ्चालन

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा काठमाडौंस्थित नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन भइरहेको छ।

नेविसंघ ल क्याम्पस इकाईका नेता तथा तयारी कक्षा संयोजक आशिष थापाका अनुसार कक्षा वैशाख १६ गतेदेखि हरेक बिहान ७ देखि ८ बजेसम्म क्याम्पसमै सञ्चालन भइरहेको छ। उनले भने, “एलएलबी पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षामा सजिलो होस् भन्ने उद्देश्यले तयारी कक्षा सञ्चालन गरिएको हो। उत्साहजनक सहभागिताले यसको प्रभावकारिता थप बलियो भएको छ।”

कक्षामा प्रवेश परीक्षामा आउने सम्भावित बहुवैकल्पिक (प्रश्नहरू, तिनको विश्लेषण तथा समाधानका विधिबारे प्रशिक्षण दिइँदैछ। संयोजक थापाका अनुसार, नेविसंघले अघिल्ला वर्षहरूमा पनि यस्तै तयारी कक्षा सञ्चालन गरिसकेको छ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका अनुसार, एलएलबीको प्रवेश परीक्षा जेठ २४ गते बिहान ११ बजेदेखि १२:४० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा १०० अङ्कको बहुवैकल्पिक प्रश्नमा आधारित हुनेछ र प्राप्ताङ्ककै आधारमा भर्ना प्रक्रिया हुनेछ।

विद्यार्थीहरूले जेठ १९ गतेदेखि अनलाइनमार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् भने परीक्षा केन्द्र पछि निर्धारण गरिने त्रिविले जनाएको छ। अनलाइन फारम भरिसक्ने अन्तिम म्याद सोमबार (जेठ ६ गते) राति १२ बजेसम्म निर्धारण गरिएको थियो। खुला तथा कोटा कोटासहित जम्मा ६०० विद्यार्थीलाई नेपाल ल क्याम्पसमा भर्ना गरिनेछ।

सामान्य दस्तुरमा फारम भर्ने शुल्क १६०० रूपैयाँ तोकिएको छ भने जेठ १२ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिनेछ। फारम भर्दा नागरिकता, फोटो, हस्ताक्षर, एसएलसी वा सोसरहको प्रमाणपत्र, कक्षा १२ वा सोसरहको ट्रान्सक्रिप्ट, र स्नातक तहको ट्रान्सक्रिप्ट अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।

नेपाल ल क्याम्पसको स्थापना वि.सं. २०११ मा भएको हो। त्रिविव अन्तर्गत यहाँ स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई तीन वर्षे एलएलबी तथा कक्षा १२ पास गरेका विद्यार्थीलाई पाँच वर्षे बीएएलएलबी कार्यक्रम सञ्चालन हुँदै आएको छ।

Logo