राष्ट्रसेवकमाथि आक्रमणप्रति औषधि व्यवसायी संघ काठमाडौंको भर्त्सना

राष्ट्रसेवकमाथि आक्रमणप्रति औषधि व्यवसायी संघ काठमाडौंको भर्त्सना

काठमाडौं एक्सप्रेस

काठमाडौँ- रौतहटको राजपुर नगरपालिका–४ मा अनुगमनमा खटिएका राष्ट्रसेवकमाथि भएको शारीरिक आक्रमणप्रति नेपाल औषधी व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले गम्भीर आपत्ति प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।

संघको काठमाडौं शाखाका अध्यक्ष शंकर महर्जन र महासचिव शुभ मान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेठ ५ गते अवैध औषधि पसल अनुगमनमा खटिएका फार्मेसी सुपरभाइजर तथा सूचना अधिकारी ओम जैसवाल र अमर शर्मामाथि भएको आपराधिक आक्रमणको कडा भर्त्सना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस घटनाले राष्ट्रसेवकहरूको मनोबल कमजोर बनाउनुका साथै औषधि व्यवसायीहरूको मर्यादामा आँच पुर्‍याएको छ।” संघले घाइते निरीक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

नेपाल औषधी व्यवसायी संघ एक अनुशासित, जिम्मेवार र सेवा भावनायुक्त व्यवसायीक प्रतिनिधिको संस्थागत संरचना भएको उल्लेख गर्दै संघले औषधि ऐन, नियम, निर्देशिका तथा संविधानको पूर्ण पालना गर्दै सेवा गरिरहेको जनाएको छ।

काठमाडौं शाखाले विगतमा महामारी, संकट र अन्य चुनौतीहरूमा अग्रपंक्तिमा रही राज्यसँग सहकार्य गर्दै सेवा पुर्‍याएको स्मरण गराउँदै यस्तो अमानवीय र गैरकानुनी क्रियाकलापको घोर विरोध गरेको छ।

“यस्ता आपराधिक घटनालाई राज्यले गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गरोस्,” विज्ञप्तिमा भनिएको छ, “राष्ट्रसेवक कर्मचारीहरूलाई सुरक्षित र सम्मानजनक वातावरणमा कार्य गर्न पाउने सुनिश्चितता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालय समक्ष हामी जोडदार माग गर्दछौं।”

शाखाले औषधि व्यवसायलाई सदैव सेवा–केन्द्रित, ऐन–कानूनअनुसार र नैतिक ढंगले सञ्चालन गर्न आग्रहसमेत गरेको छ।

Logo