महालक्ष्मी नगरपालिकालाई ’पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

महालक्ष्मी नगरपालिकालाई ’पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

काठमाडौं एक्सप्रेस

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज वडा नम्बर ८ लुभुस्थित सामुदायिक भवनमा खोप समन्वय समितिले ’पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरेको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो ।

कार्यक्रममा डा. पौडेलले पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । साथै पुनः खोप सुनिश्चित गरिएको प्रमाणपत्र १० वटै वडालाई नगरप्रमुख श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवालीले जानकारी दिनुभयो । यसअघि सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।

नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएन÷पाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ ।

महालक्ष्मी नगरपालिकामा ०–१५ महिना उमेर समूहका ८ सय ३८ तथा १६–२३ महिना उमेर समूहका ७ सय ९४ रहेको ज्ञवालीले जानकारी दिनुभयो । तीमध्ये ४ जना ड्रप आउट भएका छन् ।

’पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, सामाजिक समितिका संयोजक एवं वडा नम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जन, स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेल, जनस्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्की र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवालीले सम्बोधन गर्नुभयो ।

वक्ताहरूले स्वास्थ्यका क्षेत्रमा महालक्ष्मी नगरपालिकाकाले जिल्लामै उत्कृष्ट सेवा प्रदान गर्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन जनस्वास्थ्य जनस्वास्थ्य निरीक्षक भरत बोहराले गर्नुभएको थियो ।

Logo