अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार

काठमाडौं एक्सप्रेस

नयाँ दिल्ली- अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गर्नुभएको छ ।

बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १:३० बजे दुर्घटनाग्रस्त भएको थियो ।

एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भन्नुभयो, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उहाँको अस्पतालमा उपचार भइरहेको छ ।”

उहाँले थप्नुभयो, “मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन । आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।”

दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)’ ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ ।

सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “र्‍यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ ।

गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।

Logo