काठमाडौं– संघीय संसद सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ ।
सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो ।
सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो । कैलालीको धनगढी उपमहानगरपालिका १ शान्तिनगरमा २०२७ साल माघ ७ गते बुवा गणेशबहादुर र आमा यमुनादेवीको कोखबाट जन्मिनुभएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गर्नुभएको थियो । २०५२ सालदेखि उहाँले अविच्छिन्न संघीय संसद सचिवालयमा सेवा गर्नुभएको छ ।
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका दुराले संसद सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायतका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ । उहाँ हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव हुनुहुन्छ ।
दुराले शनिबार नै सिंहदरवारस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ ।
नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायतका पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।
प्रतिक्रिया