महालक्ष्मी नगरपालिकाले प्राप्त गर्‍यो आफ्नै प्रशासनिक भवनको लागि जग्गा

महालक्ष्मी नगरपालिकाले प्राप्त गर्‍यो आफ्नै प्रशासनिक भवनको लागि जग्गा

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणका लागि करिब १० रोपनी जग्गा प्राप्त गरेको छ।

नगर कार्यपालिकाको दीर्घकालीन योजना अनुरूप ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८, लुभुस्थित देविस्थानमा रहेको सो जग्गाको स्वामित्व प्रमाणित गर्ने प्रमाण–पत्र (पुर्जा) जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय, ललितपुरबाट औपचारिक रूपमा प्राप्त भएको हो । जग्गाको पुर्जा ग्रहण गरेलगत्तै नगर प्रमुख हरिगोविन्द श्रेष्ठले भवन निर्माणको आधार तय गर्ने यो उपलब्धिमा सहयोग पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, कर्मचारी र सरोकारवालाप्रति विशेष आभार व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्को जेठ २६ गते बसेको बैठकले हालसम्म वडा नम्बर ४, इमाडोल कमलपोखरीमा रहेको केन्द्र हटाई नयाँ केन्द्र वडा नम्बर ८, लुभुस्थित देविस्थानमा कायम गर्ने निर्णय गरेसँगै प्रशासनिक भवन निर्माणको कामले गति लिएको छ ।

नगर प्रमुख श्रेष्ठले केन्द्र स्थानान्तरणसँगै भवन निर्माणको मार्ग खुलेको बताउँदै भवन निर्माण प्रक्रिया चाँडै अगाडि बढाइने जानकारी दिनुभयो। नगरपालिकाको असार ९ गते भएको नगर सभाले लुभुमा प्रशासनिक भवन र वडा नम्बर १ मा बहुद्देश्यीय भवन निर्माणको कामलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।

नयाँ केन्द्र र पर्याप्त जग्गाको उपलब्धतासँगै महालक्ष्मी नगरपालिकाले सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।

Logo