विराटनगर – कोशी प्रदेश सरकारले खेल क्षेत्रलाई आफ्नो प्राथमिकता भित्र राखेको छ।
प्रदेश स्थापनासँगै २०७६ सालमा प्रदेश खेलकुद ऐन ल्याएर खेलकुदका गतिविधि, खेलकर्मीहरूको सम्मान, पूर्वाधार निर्माणमा प्रदेश सरकारले विशेष महत्त्व दिएको छ। खेलकुदका गतिविधिलाई तीव्र पार्ने उद्देश्यले छुट्टै खेलकुद विकास बोर्ड गठन गरी काम अघि बढाइएको छ। प्रदेशको प्राथमिकतामा खेलकुद परेपछि खेलकर्मीहरूमा आशा र उत्साह थपिएको छ।
खेलकुदका पूर्वाधार निर्माणसँगै निरन्तर गतिविधि, विभिन्न प्रतियोगिता तथा खेलकर्मीहरूलाई गरिने सम्मानले प्रदेशका युवा खेलाडीहरूमा सकारात्मक ऊर्जा थपिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ३० भन्दा बढी प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ। आगामी वर्षका लागि थप योजना समेत अघि सारिएको छ।
प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौंपछि पहिलोपटक मोफसलमा रात्रीकालीन खेलका लागि सहिद रंगशाला, विराटनगरमा स्थायी फ्लड लाइट जडान गरेको छ। लाइट जडानपछि विराटनगरमा रात्रीकालीन खेलकुदका प्रतियोगिता हुन थालेका छन्।
विराट गोल्डकप मात्र नभई विद्यालयस्तरीय, कलेजस्तरीय तथा भेट्रान फुटबल प्रतियोगिता पनि सुरु भएका छन्। विराटनगरको चर्को गर्मीमा दिनको समयमा खेल्नुपर्ने बाध्यता हटेर रात्रीकालीन खेल सम्भव भएपछि खेलाडीहरू खुसी भएका छन्। अब त नेपाल फुटबलको राष्ट्रिय टोलीले पनि रात्रीकालीन अभ्यास गर्न आउने गरेको छ।
फुटबल मात्र होइन, हक्की खेलाडीहरू पनि रात्रीकालीन खेलका कारण उत्साहित भएका छन्। विगतमा दिउँसो घाममा खेलिने हक्की प्रतियोगिता अब सहिद रंगशालाको लाइटमा राति हुन थालेपछि उनीहरू भारतसँगको रात्रीकालीन प्रतिस्पर्धा झल्काउने अनुभव बाँड्न थालेका छन्।
प्रदेश सरकारले इटहरी, धरान, झापा लगायतका रंगशालामा पनि केही फ्लड लाइट जडान गरिसकेको छ भने अन्य स्थानमा पनि क्रमशः जडान गरिँदै छ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको खेलकुद विकास बोर्डले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न खेलकुद प्रतियोगिताहरू मार्फत खेलकर्मीको क्षमता अभिवृद्धि, खेल संस्कृतिको विस्तार, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि आधार निर्माण गर्ने लक्ष्य लिएको छ।
बोर्डले आफ्नै आयोजनामा तथा विभिन्न संघसंस्थासँग सहकार्य गरेर प्रतियोगिता र कार्यक्रम सञ्चालन गरेको छ, जसले खेलकुद क्षेत्रमा जीवन्तता ल्याएको छ।
खेलकुद विकास बोर्डका अनुसार, चालु वर्षमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगिताहरूमा कराँते, जुडो, तेक्वान्दो, क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, बाघचाल, बुद्धिचाल, उसु, डोरीतान, किकबक्सिङ, ब्याडमिन्टन, एथलेटिक्स, गल्फ, सफ्ट टेनिस, कबड्डी, कुस्ती, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, बक्सिङ, भेट्रान बाघचाल, पौडीजस्ता विधा समेटिएका थिए। यी प्रतियोगिता प्रदेशका विभिन्न जिल्लामा आयोजना गरिए।
बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) का अनुसार, ग्रामीण भेगमा लुकेका प्रतिभा पहिचान गरी राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्य राखिएको थियो।
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल, मनमोहन कप विशेष क्रिकेट, महिला–पुरुष समावेशी फुटबल प्रतियोगिता जस्ता कार्यक्रमहरूले खेलकर्मी उत्पादनमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ। बोर्डले खेलकर्मी सम्मान, संस्थागत अनुदान, खेलकुद दिवसजस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
अन्तर्राष्ट्रिय पदक विजेता कराँते खेलाडी संयुना मगर ले प्रदेश सरकारले खेलकुदमा बढाएको चासो र लगानीले आफूजस्ता खेलाडीमा आशा बढेको बताइन्। “गत वर्षदेखि निरन्तर प्रतियोगिता हुँदै आएको छ, जसले अनुभव र आत्मविश्वास बढाएको छ,” उनले भनिन्।
कराँते प्रशिक्षक प्रभाकर राना का अनुसार, निरन्तर प्रतियोगिताबाट खेलाडीमा निखार आउने र प्रदर्शनमा गुणात्मक सुधार देखिने गरेका छन्।
वरिष्ठ खेलकर्मी र प्राविधिकलाई नगदसहित सम्मान गरिनुले उनीहरूको योगदान उजागर भएको सदस्य सचिव बस्नेत बताउँछन्। उनका अनुसार, यस्ता सम्मानहरूले नयाँ पुस्तालाई प्रेरणा दिने काम गर्छ।
प्रदेश सरकारको आगामी योजना अनुसार कोशी खेलकुद ग्राम निर्माण गरिने भएको छ। पूर्वाञ्चल विश्वविद्यालयले आवश्यक जग्गा दिन सहमति गरिसकेको छ भने साउन महिनाबाट निर्माण कार्य सुरु हुने मुख्यमन्त्री हिक्मतकुमार कार्की ले जानकारी दिए।
खेलकुद ग्राममा प्रशिक्षण केन्द्र, छात्रावास, अध्ययन केन्द्र, अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला समावेश गरिनेछ। आउँदो वर्ष प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी पनि भइरहेको छ।
मुख्यमन्त्रीका अनुसार, खेलकुद ग्रामको लागि चालु वर्षको बजेटमा रकम विनियोजन गरिएको छ। दीर्घकालीन योजना अघि सार्दै खेलाडीको मनोबल उच्च बनाउने, उपचार, बीमा तथा प्रोत्साहन प्याकेज समेत समेटिएको छ।
खेलकुद विकास बोर्डले प्रतियोगिता मात्र होइन, संस्थागत सुधार पनि अगाडि बढाएको छ। खेल संघ तथा संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन र व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन–२०८१ जारी भएपछि क्लबहरूको दर्ता प्रक्रिया तीव्र भएको छ।
सदस्य सचिव बस्नेत ले भने, “हालको कानुनी संरचनाले खेलकर्मीको उपचारलगायत विषयमा स्पष्टता नहुँदा व्यवहारिक कठिनाइ भएको छ। नयाँ कानुनले निजी क्षेत्र, संघसंस्था र स्थानीय सरकारसँग सहकार्य सहज बनाउने विश्वास छ।”
अबको प्राथमिकता कानुन संशोधन, कार्यक्रम निरन्तरता, तालिम र प्रतियोगिताको स्थायित्व हुने उनले बताए।
सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्ड अध्यक्ष पाँचकर्ण राई ले चालु वर्षको कोशी प्रदेश खेलकुद महोत्सव बाट सुरु भएको प्रतियोगिता वार्षिक रुपमा जारी रहने बताए।
“हामी खेलकुदलाई सामाजिक रूपान्तरण र समृद्धिको माध्यम मान्छौँ,” राईले भने।
लगातार गतिविधिका कारण कोशी प्रदेशलाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने योग्य बनाइने सदस्य सचिव बस्नेत ले बताए। उनले भने, “खेलाडी छनोट, तयारी, तालिम र व्यवस्थापनमा सम्पूर्ण शक्ति लगाइएको छ। हामी सर्वाधिक पदक जित्ने प्रदेश बन्न चाहन्छौँ।”
प्रदेश सरकारले पारा खेलकुद अन्तर्गत अपाङ्गता भएका खेलाडीका लागि क्रिकेट, पौडी र बास्केटबल मा पनि प्राथमिकता दिएको मन्त्री राई को भनाइ छ।
सागका स्वर्ण विजेता राम लिम्बूले भने, “पुराना खेलाडीहरूको अभिलेखीकरण र सम्मान सराहनीय छ। यसले नयाँ पुस्तालाई प्रेरणा दिएको छ।”
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न थालेपछि उनीहरूमा उत्साह थपिएको बोर्डले जनाएको छ।
तीन तहको सरकारको समन्वयमा खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै बस्नेत ले भने, “सीमित कर्मचारी र प्रशिक्षकले चुनौती छ। त्यसैले प्रदेश सरकारले केही संरचना पहाडी जिल्लामा तयार गरिसकेको छ भने अन्य ठाउँमा निर्माणाधीन छन्।”
खेलकुद क्षेत्र योजनाबद्ध बन्दै जाँदा खेलाडी, प्रशिक्षक सबैमा उत्साह थपिएको प्रशिक्षकहरूले बताएका छन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोशी खेलकुद ग्राम निर्माणको व्यवस्था गरेको छ।
मन्त्री राईका अनुसार, दशौँ राष्ट्रिय खेलकुद, राष्ट्रपति रनिङ शिल्ड, कोशी प्रदेश खेलकुद महोत्सव का लागि पर्याप्त बजेट विनियोजन भइसकेको छ।
फोटो क्याप्सन : कोशी प्रदेश सरकारले सहिद रंगशाला, विराटनगरमा जडान गरेको फ्लड लाइट।
प्रतिक्रिया