सोल- दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको नेतृत्वमा विगत ६ महिनाको अवधिमा नेपाली दूतावासले नेपाली श्रमिकहरूको सेवा, सुरक्षा र सशक्तीकरणका लागि उल्लेखनीय कार्यहरू सम्पादन गरेको छ। श्रमिक कल्याण, दूतावासीय सेवा विस्तार, आपतकालीन उद्धारदेखि कानुनी अधिकार सुनिश्चिततासम्म विविध क्षेत्रमा दूतावासको सक्रियता देखिएको छ।
मृत्यु, शव व्यवस्थापन र क्षतिपूर्ति संकलन
गत ६ महिनाको अवधिमा दक्षिण कोरियामा १५ जना नेपाली कामदारहरूको दु:खद निधन भएपछि नेपाली दूतावासले सम्बन्धित अस्पतालहरूसँग समन्वय गरी मृतकका परिवारलाई खबर गरेको र आवश्यक कागजात संकलन गरी शव नेपाल पठाई परिवारलाई हस्तान्तरण गरेको छ। साथै, विगतमा कोरियामा मृत्यु भएका १० जना नेपाली कामदारका परिवारलाई क्षतिपूर्ति रकम पठाइसकिएको र अन्य मृतकका बाँकी बक्यौता तथा क्षतिपूर्ति संकलन कार्य जारी रहेको छ।
कागजात प्रमाणीकरण र कन्सुलर सेवा विस्तार
कोरियामा व्यक्तिगत प्रयत्नमा शेफ (कुक) को रुपमा रोजगारमा गएका ३५ जना नेपाली कामदारको श्रम सम्झौतापत्र प्रमाणीकरण गरिएको छ। त्यस्तै, दूतावासले राहदानी नविकरण (५१५७), सवारी चालक अनुमति पत्र (६६८), शैक्षिक प्रमाणपत्र (७१०), नागरिकता, विवाह–विच्छेद, वारिस, नाता प्रमाणिकरण, प्रहरी रिपोर्ट, भिसा लगायत विभिन्न शीर्षकमा ९४३१ जनालाई सेवा दिएको छ।
गुनासो व्यवस्थापन र समाधान पहल
कोरियामा कार्यरत नेपाली कामदार तथा नेपालमा रहेका आफन्तहरूबाट सामाजिक सञ्जाल तथा फोनमार्फत दैनिक रूपमा ५० देखि १०० वटासम्म गुनासा प्राप्त हुने गरेकोमा दूतावासले श्रम स्वीकृति, सामाजिक कोषमा आवद्धता, कानुनी, मानसिक तथा शारीरिक स्वास्थ्य, उद्धार, राहत, क्षतिपूर्ति, सेल्टर र दोभासे सेवा लगायतका विषयमा आवश्यक पहल गर्दै आएको छ। साथै, रोजगारदाताबाट आउने गुनासोहरूमा पनि समन्वय गरी समाधान खोजिएको छ।
पत्राचार र सम्बन्ध संस्थासँग समन्वय

दूतावासले नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायहरू र कोरियाली सरकारी संस्थाहरूसँग मृत्यु, उद्धार, पारिश्रमिक, क्षतिपूर्ति, भिसा, कारागार, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा लगायत विविध विषयमा पत्राचार तथा प्रतिवेदन आदानप्रदान गर्दै आवश्यक समन्वयको भूमिका निर्वाह गर्दै आएको छ। विशेषगरी E-7 भिसा सम्बन्धमा हाल कोरियामा कार्यरत ८ हजारभन्दा बढी कामदारका लागि श्रम स्वीकृति व्यवस्थापनका विषयमा पनि पत्राचार गरिएको छ।
मानसिक स्वास्थ्य सहायता र उद्धार
मानसिक समस्या देखिएका कामदारहरूलाई मनोपरामर्श तथा अस्पताल उपचारको समन्वय गरिनुका साथै १० जनालाई नेपाल फर्काउन सहयोग गरिएको छ। मानसिक स्वास्थ्य समस्यामा रहेका ४० जनालाई भर्चुअल माध्यमबाट व्यक्तिगत रूपमा परामर्श प्रदान गरिएको र आवश्यक परे उपचार सेवामा समेत रेफर गरिएको छ।
स्वास्थ्य उपचार र दूतावासको सहयोग
औद्योगिक दुर्घटना तथा बिरामी परेका १२ जना नेपाली कामदारमध्ये ६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ६ जना अझै अस्पतालमा उपचाररत छन्। केही उदाहरणमा तिर्थराज बुढाथोकी, टेक राज खत्री, नवराज तिमिल्सिना, फुर्वा छिरिङ लामा लगायतलाई प्रति व्यक्ति रु १ लाखका दरले दूतावासबाट उपचार खर्च उपलब्ध गराइएको छ। यस्तै, खोटाङका परशुराम राईलाई मानसिक समस्यापछि उपचार तथा टिकट खर्च दूतावासबाट बेहोरी नेपाल फर्काइएको छ। उदयपुरका कमल चौधरीलाई दूतावासले अभिभावकत्व लिई अस्पतालमा पुर्याई उपचार खर्चसमेत व्यहोरेको छ।
श्रमिक सचेतना कार्यक्रम र अनलाइन सामग्री
नेपाली दूतावास, कोरिया र वैदेशिक रोजगार बोर्डको सहकार्यमा दूतावासको फेसबुक पेजमार्फत “श्रम सचेतना तथा सुरक्षा” कार्यक्रम अन्तर्गत १० वटा भिडियो सार्वजनिक गरिएका छन्। त्यस्तै, ‘सुनौं सिकौं’ नामक मनोसामाजिक तथा स्वास्थ्य परामर्श कार्यक्रम अन्तर्गत ९ वटा भिडियो फेसबुक र टिकटकमार्फत लाइभ गरिएको छ। दूतावासले सामाजिक सञ्जालको पहुँचलाई उपयोग गर्दै कामदारहरूलाई सजग र सुरक्षित बनाउन निरन्तर सक्रियता देखाएको छ।
घुम्ती सेवा तथा प्रत्यक्ष सहभागिता
कोरियाका किम्हे, जेजु, थेजन, उल्सान, नोन्सान, मिर्याङ, ईक्सान, मोक्पो र छेवुदो गरी ९ स्थानमा श्रमिक सचेतना र कन्सुलर सेवा कार्यक्रम सञ्चालन गरिएको थियो, जसबाट जम्मा ८२६ जना नेपाली कामदारले प्रत्यक्ष लाभ लिएका छन्।
कारागारमा रहेका नेपालीहरूको अवस्था
सन् २०२५ मे १३ सम्म कोरियाली कारागारमा पुरुष ५ र महिला १ गरी ६ जना नेपाली कारागार सजायमा छन् भने ५ जना थुनुवा केन्द्रमा राखिएका छन्। कोरियाको कानुन अनुसार नाम विवरण गोप्य राखिएको छ। दूतावासले कारागारमा रहेका नेपालीहरूको अवस्थाबारे कोरियाली परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेको छ।
डा. तुम्बाहाङ्फे नेतृत्वको राजदूतावासले पछिल्लो छ महिनामा देखाएको सक्रियता कोरियामा रहेका नेपाली श्रमिकहरूको हित, सुरक्षाको प्रत्याभूति र सरकारी संयन्त्रबीचको समन्वयमा एक उदाहरणीय अभ्यासको रुपमा देखिएको छ।
प्रतिक्रिया