वीरगन्जमा नेपाल–भारत मिलत परिषद केन्द्रको विशेष कार्यक्रम सम्पन्न

वीरगन्जमा नेपाल–भारत मिलत परिषद केन्द्रको विशेष कार्यक्रम सम्पन्न

काठमाडौं एक्सप्रेस

वीरगन्ज, साउन ५ – नेपाल–भारत मिलत परिषदद्वारा वीरगन्जको पुजन होटलमा भव्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयासका लागि परिषदले खेलेको भूमिकाको प्रशंसा गरे।

उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खान, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अली, पूर्व राज्यमन्त्री करिमा बेगम र जाकिर हुसेन, साथै वीरगन्जस्थित भारतीय दूतावासका वाणिज्य दूत संजय कुमारलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा करिब दुई हजार जनाको उपस्थिति रहेको परिषदका अध्यक्षसमेत रहेका मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए।

अध्यक्ष अन्सारीले परिषदको उद्देश्य नेपाल र भारतबीचको सदियौं पुरानो जनस्तरको मित्रतालाई अझ प्रगाढ बनाउन रहेको बताए। “भौगोलिक नजिकता, भाषा र भेषभूषामा समानता भएकाले हाम्रो सम्बन्ध अझ सहज र सुमधुर छ। धार्मिक सहिष्णुता र भाइचारालाई तोड्ने प्रयास सफल हुन सक्दैन,” उनले भने।

नेपाल बहुजाति, बहुभाषी र बहुधार्मिक मुलुक भएकाले यसलाई साझा फूलबारीको रूपमा बचाइ राख्न सबैको दायित्व रहेको वक्ताहरूको भनाइ थियो।

समारोहमा परिषदले विगतमा सञ्चालन गरेका सामाजिक तथा मानवतामुखी गतिविधिहरूको चर्चा गरिएको थियो। छात्रवृत्ति, एम्बुलेन्स, विद्यालय बस, सिलाइ–कटाइ तालिम र महिला उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम परिषदका मुख्य गतिविधि हुन्। भूकम्प र कोरोना महामारीका बेला पनि संस्थाले उल्लेखनीय राहत सहयोग पुर्‍याएको अध्यक्ष अन्सारीले स्मरण गरे। “हामी धार्मिक सद्भाव, भाइचारा र आपसी सहयोगका पक्षधर हौं,” उनले भने, “समाजको आवश्यकताअनुसार हाम्रो सेवा निरन्तर रहनेछ।”

Logo