काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच आज बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ ।
प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल लगायतको सहभागीता रहेको छ ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, बजेटका प्राथमिकता, राष्ट्रिय सहमति र सहकार्यका सम्भावना लगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
सरकार सञ्चालनमा सहकार्य गरिरहेका एमाले र कांग्रेस नेतृत्वबीच पछिल्लो समय देखिएको समन्वय अभाव र नीतिगत मतभेदका विषयमा स्पष्टता ल्याउने उद्देश्यले उच्चस्तरीय संवाद भएको बताइएको छ ।
छलफलमा दुवै दलका शीर्ष नेताहरूले आगामी दिनमा सहकार्य अझ प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। बैठकबारे भने औपचारिक रुपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया