बाजुरा — जिल्लाको पूर्वी भेगमा पर्ने हिमाली गाउँपालिकाले पहिलोपटक राष्ट्रियस्तरमा प्रथम राष्ट्रिय कोदो दिवस मनाउने तयारी गरेको छ। “कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मूल नारासहित कार्यक्रम साउन १६ गते हिमाली गाउँपालिका–६, धिममा आयोजना गरिनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाका अनुसार कोदो खेतीलाई प्रोत्साहन गर्नु, परम्परागत अन्नप्रति जनचासो बढाउनु र पोषणयुक्त खानाको प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको छ ।
गाउँपालिका क्षेत्रका सम्पूर्ण कृषक, कृषक समूह, सहकारी संस्था, कृषि फर्म, कृषि क्षेत्रसँग सम्बन्धित संघ–संस्था र कृषि प्रेमी सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।
कोदो पर्वतीय क्षेत्रमा उत्पादन हुने प्रमुख अन्नमध्ये एक हो, जसले खाद्य सुरक्षा र पारम्परिक खेती प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हिमाली गाउँपालिकाले पहिलोपटक राष्ट्रिय तहमा यसको प्रचार–प्रसार र महत्त्व उजागर गर्न यस्तो दिवस मनाउने निर्णय लिएको हो ।
यस अवसरमा कोदाबाट बनेका परिकारहरूको प्रदर्शनी, स्थानीय जातको बीउको आदान–प्रदान, किसान अनुभव आदान–प्रदान कार्यक्रम तथा कोदो खेती प्रवद्र्धनका रणनीतिबारे छलफल समेत गरिने बताइएको छ ।
स्थानीय उत्पादनमा आधारित विकास र पोषणयुक्त परिकार प्रवद्र्धनमा यस्तो कार्यक्रम मील का पत्थर हुने जनाइएको छ ।
प्रतिक्रिया