ललितपुर- महालक्ष्मी नगरपालिकाले वडा नम्बर १ बाट डेंगु सचेतना अभियान सुरू गरेको छ ।
डेंगु सचेतना महिना घोषणा भएसँगै महालक्ष्मी नगरपालिकाले बिहीबार वडा नम्बर १ मा ‘डेंगु रोग संक्रमण रोकथाम तथा सरोकारवाला अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको हो । सरकारद्वारा साउन महिनालाई ‘डेंगु सचेतना महिना’ घोषणा गरेसँगै नगरपालिकाले डेंगु संक्रमण रोकथाम तथा जनचेतना अभिवृद्धिका लागि सक्रियता देखाएको महालक्ष्मी नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्री हिमलाल ज्ञवालीले जानकारी दिए ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई डेंगुको जोखिम न्यूनिकरण, रोकथामका उपायहरू, र सरोकारवाला निकायहरूबीचको समन्वय अभिवृद्धिमा लक्षित गरिएको थियो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष छिरिङ लामा, वडा सदस्यहरू, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेल, महालक्ष्मी नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्री हिमलाल ज्ञवाली, इमाडोल स्वास्थ्य प्रवर्द्धन केन्द्रकी डा. सुलोचना कुँवर, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा समुदायस्तरका सरोकारवाला व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।
सरकारले हालै ‘साउन महिना डेंगु सचेतना’को रूपमा घोषणा गर्दै प्रत्येक शुक्रबार बिहान १० बजे ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रालयले डेंगुको उच्च जोखिम साउनदेखि कात्तिकसम्म रहने भएकाले सचेतना फैलाउने उद्देश्यले यस्तो अभियान सुरु गरेको हो ।
नगर प्रमुख श्रेष्ठले नगरपालिका भित्र प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै डेंगुजस्ता सरुवा रोगको नियन्त्रणका लागि समुदायस्तरको सहभागिता अपरिहार्य हुने बताए ।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक भरत बोहराले गरेका थिए ।
प्रतिक्रिया