काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक बिहीबार पनि घटेर बन्द भएको छ। परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा बन्द भएको हो।
लगातार दुई दिन बजार घट्दा लगानीकर्तामा आशंका उत्पन्न भएको छ। बुधबार बजार ४७.९३ अंकले घटेको थियो। हाल ‘सेक्टरल रोटेसन’ हुने समयमा यसमा प्रभाव पर्ने सेयर बजारका बारेमा प्रशिक्षण दिँदै आएका सुवासचन्द्र ढुंगानाले बताए। एउटाबाट अर्को ‘सेक्टर’मा लगानी जाने सम्भावनाका कारण बजारमा ‘करेक्सन’ देखिएको उनको भनाइ छ।
२९ सयको विन्दुसम्म डराउनु नपर्ने ढुंगाना बताउँछन्। बजार २९ सयभन्दा तल झरे यसअघिको उच्च विन्दु पार गर्न समय लाग्न सक्ने उनको विश्लेषण छ।
“नराम्रा कम्पनीहरू फालेर अलिकति राम्रा डिभिडेन्ड बाँड्ने खालका कम्पनीमा लाग्ने सम्भावना छ। अनि, अर्को भनेको सेक्टरल रोटेसन हुने टाइम पनि भयो। त्यसकै रियाक्सन पनि हिजो र आजको घटाइ हुनसक्छ,” उनले भने।
यस दिन सेयर कारोबार रकममा पनि कमी आएको छ। १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बुधबार १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो।
५२ कम्पनीको सेयर मूल्य बढेको छ। १९८ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
यसअघि, हालै आईपीओ निष्कासन गरेका कम्पनीमा ‘टनओभर’ बढी आउने गरेको थियो। तर, बिहीबार विकास बैंक, फाइनान्स र लघुवित्तको सेयरमा आकर्षण देखिएको छ।
सप्तकोसी, ग्रीन डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट र सान्भी इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ। यो कम्पनीको एक अर्ब ३३ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार १०० रुपैयाँ ७० पैसा कायम छ। कारोबारमा आएका १३ मध्ये फाइनान्सबाहेक सबै समूहको परिसूचक घटेको छ। फाइनान्स समूहको परिसूचक १.१८ प्रतिशतले बढेको छ।
प्रतिक्रिया