कोशी प्रदेशसभामा विधेयक पारित

कोशी प्रदेशसभामा विधेयक पारित

काठमाडौं एक्सप्रेस

विराटनगर, । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । मन्त्री कार्कीले कोशी प्रदेशमा अहिले पनि १२३ खानेपानी आयोजना रुग्न रहेको जानकारी दिँदै बजेटको अभाव रहे पनि प्रदेश सरकारले झापाको भद्रपुर नगरपालिका–२ र विराटनगर महानगरपालिका–१४ को खानेपानी आयोजना सङ्घीय सरकारबाट हस्तान्तर भई प्रदेशको मातहत आइसकेको जानकारी दिए । यी दुवै आयोजना चार लाख ५० हजार लिटर पानी अट्ने क्षमताका हुन् ।

मन्त्री कार्कीले अहिले कोशी प्रदेशमा ३४ दशमलव सात प्रतिशत जनतालाई मात्र खानेपानीको प्रबन्ध रहेको जानकारी दिँदै यो विधेयकले सबै नागरिकलाई खानेपानीको प्रबन्ध मिलाउन सहज हुने बताए । संविधानप्रदत अधिकार तथा नागरिकको सम्मानका निम्ति पिछडिएका जाति र समुदायलाई सर्वसुलभ ढङ्गले खानेपानीको व्यवस्था मिलाउन प्रदेश सरकार तत्पर रहेको उनले बताए ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु मीना श्रेष्ठ, रमेशकुमार बस्नेत, तिलचन पाठक, खगेश्वरी पौडेल र शोभा चेम्जोङले नागरिकका विविध समस्याबारे आफ्ना जिज्ञासा राखेका थिए । प्रदेशसभाको अर्को बैठक यही साउन २२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

Logo