काठमाडौँ, । नेपाली सुन बजारले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले बढ्दै १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो।
यसअघि, गएको वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। त्यसयता केही समय घट्दो क्रममा रहेको सुनको मूल्य फेरि नयाँ कीर्तिमान बनाउँदै उकालो लागेको हो।
महासंघका अनुसार, हिजो (सोमबार) सुनको मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँ रहेको थियो। अघिल्लो आइतबार मात्र सुनको मूल्य एकैदिन ३ हजार ४ सय रुपैयाँले बढेको थियो भने सोमबार सिर्फ १ सय रुपैयाँको वृद्धि भएको थियो। आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २ सय ८० रुपैयाँ पुगेको छ।
सुनको मूल्यमा भइरहेको लगातारको उतारचढावले गहना खरिद गर्ने उपभोक्ता, सुन व्यवसायी र लगानीकर्ताहरूबीच चासो र सतर्कता बढाएको छ। विशेष गरी वैवाहिक सिजन नजिकिँदै गर्दा मूल्य वृद्धिले उपभोक्तालाई आर्थिक असर पार्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया